
पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गरेका छन ।
विसं २०७७ माघ देखि विसं २०७८ फागुन मसान्तसम्म उहाँले बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधाबापत सरकारबाट प्राप्त भएको रु १३ लाख ६६ हजार ३६० मा थप गरी कूल रु १४ लाख ८६ हजार ९०७ सामाजिक कार्य र विकास निर्माणमा खर्च गरेको जानकारी दिए ।
नेपाल प्रेस युनियन कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिलाई आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवामा लगानुपर्दछ भनेर सरकारी सुविधा जनताको हितमा लगाएको बताए । उनले निर्वाचित हुनुअघिनै राज्यबाट पाउने सेवा सुविधा समाजको हितमा लगाउने जानकारी दिए ।
उनले भने,“ राजनीति मेरा लागि सेवा हो, पेसाका रुपमा लिएको छैन । व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन । राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि जनताको सेवा गर्नु मेरो ध्येय हो, निर्वाचित भएदेखिनै त्यसमा प्रतिबद्ध छु ।”
मन्त्री थापाले विसं २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखिनै सुविधाको रकम बिरामीको उपचार सहयोग, स्वास्थ्य सामग्री र दलित बस्तीमा खानेपानी लगायतका कार्यमा लगाउनुभएको छ । वर्सेनि उहाँले आफूले पाएको रकम सार्वजनिक गर्दै समेत आएका हुन ।
उनले प्रदेशको समृद्धि र विकासका लागि सरकारको जिम्मेवार सदस्यका रुपमा प्रतिबद्ध रहेको समेत उल्लेख गरे। मन्त्री थापाले यसवर्ष पोखरा महानगरपालिका–८, ११, १६ र वडा नं ९(शान्तिघाट)मा सडकबत्ती, फोकस लाइटर खरिदका लागि रु एक लाख ४२ हजार ७५० खर्च गरेका छन ।
यसैगरी वडा नं ११, १६, २०, २१, २४ र ३३ मा तारजाली र पाइप खरिदमा रु दुई लाख ५६ हजार, पोखरा वडा नं ८ र ९ विभिन्न टोल र स्थानमा सडक बत्तीका लागि र एक लाख २४ हजार, पोखरा–१६ तुम्के गल्र्याङमा खानेपानी पाइप सहयोगमा रु ६५ हजार, पोखरा–३३ को उपल्लोपूँडी, तल्लोपुँडी, आँपुकसेरी, चिसापानी लगायतका स्थानमा खेलकूद सामग्रीका लागि रु ६७ हजार ५०० लगायतका अन्य संस्था तथा व्यक्तिलाई आर्थिक सहयोग गरिएको मन्त्री थापाले जानकारी दिए ।
उनी विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट विजयी भएका हुन ।
मन्त्री थापाको पोखराका घरजग्गा व्यवसायी थापाको पोखरा महानगरको प्राइम लोकेसन नयाँबजार, लेकसाइड र महेन्द्र पुलमा ६ वटा घर छन् । उनले करोडौं रुपैयाँ खर्चिएर नयाँबजारमै पुरानो शैलीको घर बनाएका छन् ।
थापाको पोखरामा ३ वटा होटल तथा रिसोर्ट र २ वटा ब्यापारिक भवन रहेका छन् । उनले पोखरामा पोखरा बुटिक होटल प्रालि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रालि सञ्चालन गर्छन् । त्यस्तै सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रालिलगायतका व्यापारिक भवन पनि उनकै नाममा छ । पोखराकै ठूलो मल मध्यमा पर्ने पोखरा ट्रेड मलमा पनि उनको लगानी छ ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापा विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । मेगा बैंकसँग मर्ज हुनु पहिले थापा पोखराको विश्व विकास बैंकका अध्यक्षसमेत थिए । थापा मेगा बैंकको संस्थापक शेयरधनी पनि हुन् ।
थापाको मेगा बैंकको ४ लाख, ६८ हजार ५६ कित्ता, सेन्चुरी कमर्सियल बैंकको ९१ हजार ३ सय ६७, सिद्धार्थ बैंकको ४३ हजार ७ सय ७८, लुम्बिनी विकास बैंकको ५० हजार ९ सय ९ कित्ता शेयर छ । यसैगरी मेगामै श्रीमती मनलक्ष्मी थापाको नाममा ५० हजार, राधा लक्ष्मी थापा क्षेत्रीको नाममा २७ हजार ३ सय ८१ र छोरा सौगात थापाको नाममा २६ हजार १ सय १६ कित्ता विभिन्न बैंकको शेयर छ ।
प्रतिक्रिया दिनुहोस