aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कसैले आचारसंहिता उल्लङ्घन गरे निर्वाचन आयोगको कल सेन्टरमा उजुरी गर्न सकिने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, १६ चैत्र २०७८
कसैले आचारसंहिता उल्लङ्घन गरे निर्वाचन आयोगको कल सेन्टरमा उजुरी गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ । आगामी २०७९ साल वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोगले सुरु गरेको ‘कल सेन्टर’मा उजुरी वा गुनासो गर्न सकिने छ । निर्वाचन आचारसंहिता–२०७८ ले गरेको व्यवस्थाबमोजिम आयोगले कल सेन्टर सुरु गरेको हो ।

आचारसंहिता पालना गर्नुपर्ने उम्मेदवार वा आचारसंहिता लागू हुने संस्था, निकाय वा व्यक्तिले उल्लङ्घन गरेको पाइए सूचना दिन सक्ने व्यवस्था गरेको छ । आयोगको निर्वाचन आचारसंहिता भने अझै लागू भइसकेको छैन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्गलबार काठमाडौंस्थित आयोगको कार्यालयमा कल सेन्टरको उद्घाटन गरेका छन् । विराटनगरबाट अच्युत दाहालले मतदाता नामावलीमा आफ्नो नामबारे जानकारी लिन गरिएको प्रश्नको प्रमुख आयुक्त थपलियाले जवाफ दिए । 

आयोगका उपसचिव एवं योजना अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराईले सर्वसाधारणले आचारसंहिता उल्लङ्घनबारे टोलफ्री नम्बरमा जानकारी गराउन सक्ने र आयोगले जानकारी पाएलगत्तै छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताए । 

प्रतिक्रिया दिनुहोस