aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

‘उद्यमशिलता नै महत्वपूर्ण हो भन्नका निम्ति पाठ्यक्रममा नै सुधार गर्नुपर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ चैत्र २०७८
‘उद्यमशिलता नै महत्वपूर्ण हो भन्नका निम्ति पाठ्यक्रममा नै सुधार गर्नुपर्छ’

युवा वर्ग राष्ट्र निर्माणको विशिष्ट शक्ति हो । देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको हुन्छ । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवम् उच्च आत्मविश्वासका कारण पनि युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिएको छ । 

शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवाशक्ति विकास गरी यो जनसाङ्ख्यिक प्रवृत्तिलाई पुँजीकृत गर्दै राष्ट्र निर्माणमा लगाउन सकिएमा युवाहरूले देशको सामाजिक एवम् आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत बताउँछन् । यसै विषयलाई मध्यनजर गरी नेपाल सरकारले राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ जारी गरेको छ । साथै युवाको हकहितको, संरक्षण र सम्वर्धन गर्ने कार्यका लागि राष्ट्रिय युवा परिषद्को गठन गरिएको छ । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष बस्नेतसँग युवा वर्गको अवस्थाको बारेमा आर्थिकन्युज डटकमका लागि सम्झना बरुवालले गरेको कुराकानीको सम्पादित अंशः
 
राष्ट्रिय युवा परिषद्ले के काम गर्छ ?
यो संस्था युवाहरुका लागि काम गर्ने सरकारको अविभावकिय संस्था हो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ अनुसार सरकारको स्वायत्त निकायको रुपमा काम गर्ने कार्यदेश छ  । संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यले युवाको क्षेत्रमा प्रक्षेपण गरेका कुरालाई टेक्दै राष्ट्रिय योजना आयोगका १५ औं योजनाले परिलक्षित गरेको विषयमा आधारित रहेर राष्ट्रिय युवा नीति २०७२ तयार भएको छ । त्यसैगरी युथ भिजन २०२५ नीतिगत रहेको छ । यसैमा आधारित रहेर युवाहरुको जागरण र शक्तिकरण क्षमता र नेतृत्व विकासका निम्ति काम गर्छ । 

मुख्यतया पाँच वटा आधार स्तम्भमा केन्द्रित रहेर राष्ट्रिय युवा परिषद्ले काम गर्छ । गुणस्तरीय र व्यवसायीक शिक्षा, रोजगार उद्यमशिलता र सिप विकासको क्षमता विकास, सामाजिक सुरक्षा र स्वास्थ्यका निम्ति यसले युवाका लागि काम गर्छ । त्यस्तै, युवा सहभागिता, परिचालन र नेतृत्व विकास चौथो आधार स्तम्भ रहेको भने पाँचौ आधार स्तम्भमा खेलकुद र मनोरञ्जन रहेको छ । यिनै नीतिगत मार्गदर्शनमा आधारित रहेर युवा परिषद्ले युवाहरुको क्षेत्रमा काम गर्ने गर्छ ।

राष्ट्रिय युवा परिषद् गठनको उद्देश्य के हो ?
२०७२ सालमा राष्ट्रिय युवा परिषद्को गठन भएको हो । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेर यसले काम गर्छ । नेपालमा १६ वर्षदेखि ४० वर्ष उमेर समुहकालाई युवाको रुपमा परिभाषित गरिएको छ । युवाको संख्या नेपालको जनसंख्यामध्ये ४०.३५ प्रतिशत रहेको छ । जनसंख्याको यत्तिको ठूलो हिस्सा रहेको युवालाई राष्ट्रिय जिवनको हरेक क्षेत्रमा परिचालित गर्ने यसको उद्देश्य रहेको छ । 

त्यस्तै, युवाहरुको वृद्धि विकास र सशक्तिकरण गर्ने, युवाहरुलाई रोजगार र उद्यमशिलता तर्फ अभिप्ररित गर्ने एउटा उद्देश्य हो, भने जनसंख्याको यति ठूलो हिस्सालाई सदुपयोग गरेर राष्ट्रको निकास र देश विकासको निम्ति परिचालन गर्नु हो अर्को उद्देश्य हो । यससँगै युवा जनशक्तिलाई राष्ट्रिय राष्ट्र निर्माणमा लगाउँदै युवाहरुलाई सकारात्मक जागरण, उत्प्रेरणा, उद्यमशिलता र स्वरोजगारको क्षेत्रमा परिचालित गर्नु नै यसको उद्देश्य हो ।  

राष्ट्रिय युवा परिषद्ले युवा लक्षित गरेर विगतमा के–के काम गर्यो र अहिले के गर्दै छ ? 
राष्ट्रिय युवा परिषद्ले सरकारका विभिन्न निकायहरुलाई केही मोडलहरु विकास गर्दछ र त्यहि मोडलहरु हस्तान्तरण गर्ने काम पनि गर्दछ । त्यसै अन्तर्गत यस परिषद्ले स्थापना कालदेखि आजसम्म आइपुग्दा सहलियतपूर्ण कर्जा कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारे आम युवाहरुलाई हजारौको संख्यामा तालिम दिएका छन । देशका विभिन्न पालिकाहरु र राष्ट्रिय बैंक लगायतका बैंकहरुसँग सहकार्य गर्दै युवाहरुका लागि उद्यमशिलता र वित्तीय साक्षरताको तालिम सञ्चालन गरेका छौ । 

युवाहरुको क्षमता र नेतृत्व विकासको निम्ति नमुना युवा संसदको तालिम पनि सञ्चालन गर्ने गरेका छौ । गाउँसभा, प्रदेशसभा र संघियसभा कसरी सञ्चालन गर्ने भन्ने कार्यक्रम राष्ट्रिय युवा परिषद्को लिडिङ कार्यक्रम पनि हो । त्यस क्षेत्रमा पनि देशभरि नयाँ नेतृत्व विकासका निम्ति नमुना युवा संसदको बैठक पनि सञ्चालन गर्छौ । 

एक विद्यालय एक उद्यम कार्यक्रम भनेर पनि हामीले सात वटा प्रदेशबाट विद्यालयहरु छनौट गरेर विद्यालयमा पठाइने शिक्षालाई जीवन व्यवहार र उद्यमसँग जोड्ने सन्दर्भमा विद्यार्थीहरुलाई स्थानिय स्रोत साधनको आधारमा र त्यसको सापेक्षताको आधारमा विद्यालयमा उद्यमशिलताको कार्यक्रमलाई अगाडी बढाउने पनि हाम्रो कार्यक्रम रहेको छ ।

यससँगै विभिन्न समय र कार्यक्रममा स्वयसेवक परिचालन गरेका छौ । दैवी प्रकोप भुकम्प, ट्राफिक व्यवस्था लगायतका क्षेत्रमा पनि युवाहरुलाई स्वयसेवकको रुपमा परिचालन गरेका छौ । आज युवाहरुको यति ठूलो जनसंख्या छ । अहिले युवाहरुमा निराशा पनि छ । युवाहरुलाई सकारात्मक दिशामा अगाडी बढाउनका निमित्त युवाहरुलाई परामर्श दिनका लागि युवा परामर्श कार्यक्रम पनि रहेको छ । 

यसका साथै विभिन्न प्रकारका स्वरोजगार, उत्पादन र उद्यमशिलतासँग सम्बन्धित कामहरु मुख्य रुपमा गर्दै आएका छौ । युवाहरुका निम्ति नीति निर्माणका क्षेत्रमा पनि काम गरेका छौ । युवाहरुका निम्ति कस्तो निम्ति निर्माण गर्ने भन्ने सन्दर्भमा सरोकारवालाहरुसँग साझेदारी र हातेमालो गर्दै राष्ट्रिय युवा नीति, प्रदेशको युवा नीति कस्तो बनाउने र स्थानिय तहहरुलाई युवामैत्री कसरी बनाउने भन्नेबारे पनि चासो राखेका छौं । 

त्यस्तै प्रदेश सरकारलाई युवा सम्बन्धिका नीति तथा कार्यक्रमहरु कसरी बनाउने देखि लिएर युवाको क्षेत्रमा संघीय सरकारले गर्ने कार्यक्रमको बारेमा चासो र सरोकार राख्छांै । सरकारका १४ वटा मन्त्रालयमा युवासँग सम्बन्धित विभिन्न कार्यक्रमहरु रहेका छन् । ती कार्यक्रमहरुलाई एकीकृत ढंगले सञ्चालन गर्दा तीनको उपयोगिता अझ बढ्न सक्छ की भन्ने मलाई लाग्छ । तथापि युवाका कार्यक्रमहरु कहाँ– कहाँ के–के छन् । भन्ने बारेमा पनि युवाहरुलाई ठिक ढंगले मार्गदर्शन गर्ने काम गर्दछौं । बिचमा हाम्रो युवा उद्यम लोकप्रिय कार्यक्रम बनेको थियो । बिना धितो र बिना ब्याजमा युवाहरुलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने कार्यक्रम पनि रहेको थियो । अहिले उक्त कार्यक्रम केही समय रोकिएको छ । 

अहिले शिक्षित/अशिक्षित सबैजसो युवाहरु बेरोजगार छन् । नेपालमा युवाहरुको समस्या के हो ? 
नेपालमा प्रत्येक वर्ष ४ लाख ५० हजार युवाहरु श्रम बजारमा आइपुग्छन् । तर, बिडम्बना अहिलेसम्म सरकारले १० प्रतिशत मानिसलाई पनि रोजगारी दिन सक्ने अवस्था छैन । झण्डै त्यहि संख्या प्रत्येक वर्ष मानिसहरु विदेश जान बाध्य छन् । यो एउटा राष्ट्रको विकराल समस्या हो । यत्तिका युवा विदेश जानु पर्ने उनीहरुलाई स्वदेशमै रोजगारी र उद्यमशिलता दिन नसक्ने जुन परिस्थिति छ । 

त्यो देशको ठूलो समस्या हो । अब राष्ट्रिय युवा परिषद्, युवा तथा खेलकुद मन्त्रालय होस् या सरकारले युवाको ठूलो संख्यालाई स्वदेशमै काम दिने र उद्यमशिलतामा लगाउनुपर्छ । जागिरले मात्र हुँदैन उद्यमशिलतातर्फ पनि युवाहरु जोडिनुपर्छ । 

एकातिर युवालाई उद्यमशिलतातर्फ जोड्न लागि परेका छौ भने अर्को तर्फ विदेशबाट फर्केर आएका ६० लाखभन्दा बढी मानिसहरुलाई उनीहरुले सिकेर आएको सिप र दक्षतालाई राष्ट्रिय जिवनमा र उद्यमशिलतामा प्रयोग गर्ने हिसाबले राष्ट्रिय युवा परिषद्ले सञ्जाल पनि बनाएका छौ । उनीहरुलाई संगठित तवरले उद्यमशिलतासँग जोडर परिचालित गर्नुपर्दछ भन्ने पनि हाम्रो कुरा रहेको छ । आज झण्डै ५० लाख युवाहरु रोजगारीको शिलशिलामा विदेशमा गएका छन् । दक्ष जनशक्ति यति ठूलो संख्यामा बाहिर हुनु देशको भविष्यका निम्ति सुखद कुरा होइन । उहाँहरु बाध्यतावस विदेश जानुभएको हो । 

त्यसैले हामी सरकारका विभिन्न तालुकदार मन्त्रालय र विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै युवाहरुलाई स्वदेशमै रोजगारी र उद्यमशिलतासँग जोड्ने कुरामा नीति निर्माणका काममा पनि महत्वपूर्ण ढंगले आवाज उठाउने, सम्बन्धित पक्षलाई खबरदारी गर्ने र आफूले सक्ने काम आफै गर्नै काममा लागि परेका छौ ।  

युवा परिषद्को नेतृत्वमा युवा नै किन चाहियो त ? 
यो एउटा युवालाई नै लक्षित गरेर स्थापित भएको राज्यको संस्था हो । युवाका सबै समस्या यही संस्थाले हल गर्छ भन्ने कुरा हुँदैन । हाम्रा सिमाहरुले पनि त्यसो गर्न दिदैन । मुख्य रुपमा हामी नीति निर्माणमा केन्द्रीत हुने हो । हामीले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालय लगायत उद्योग र कृषि मन्त्रालय मार्फत युवाका मुद्दा र एजेण्डाहरु उठाउँछौ । 

सम्बन्धित निकायलाई घच्घच्याउँछौ । र त्यसको समाधानको बाटो पहिल्याउनका निमित्त हामीले भूमिका खेल्छौ र वकालत गर्छौ । सबै काम हामी नै गछौ भन्ने होइन । समाधानको बाटो पहिल्याउने मार्गचित्रको खोजी गर्छौ । 

तर, कतिपय हामीले विकास गरेर सञ्चालन गरेका कार्यक्रमहरु सरकारले बोण्ड गरेको स्वामित्व ग्रहण गरेको पनि छ । बिना धितो बिना ब्याज ऋण कुरा राष्ट्रिय युवा परिषद्ले विकास गरेको अवधारण हो । पछि सरकारले पनि यसलाई ग्रहण गरेको छ ।  त्यसैगरी सहुलियत पूर्ण कर्जा युवाहरुलाई दिनुपर्छ भन्ने अवधारण पनि राष्ट्रिय युवा परिषद्ले नै उठाएको विषय हो । 

समस्याहरुलाई संकलन गर्ने पहिचान गर्ने उठान गर्ने र आफूले सकेको काम आफैले गर्ने र राष्ट्रिय युवा परिषद्ले गर्न नसकेको कामहरु सम्बन्धित निकायहरुलाई ध्यानाकषर्ण गराउने खबरदारी गर्ने, लबिङ गर्ने युवाहरुको तर्फबाट आवाज उठाउने, नीति निर्माणको काममा प्रतिबिम्बित गर्ने जस्ता कामहरु हामी गर्छौ । 

अहिले परिषद्ले के के काम गर्दैछ ?      
म आएको केही समयमात्र भएको छ । म आएपछिको कामको धेरै समिक्षा गर्ने बेला पनि भएको छैन । हामीले राष्ट्रिय युवा परिषद्को सातौं स्थापना दिवस मनाऔं । युवासँग सम्बन्धीत नीतिलाई सहयोग हुने किसिमले मुलुकमा क्रियाशिल प्रमुख छ वटा राजनितिकदल सम्वद्ध केन्द्रीय तहका युवा नेताहरुलाई बोलाएर युवाका समस्या र समाधानका विषयमा महत्वपूर्ण छलफल पनि गर्यौ । कार्यपत्र पनि प्रस्तुत भएका थिए । 

त्यससँगै देशका विभिन्न भागमा युवाहरुको वित्तीय साक्षरता र उद्यमशिलताका तालिम कार्यक्रमहरु पनि सञ्चालन गर्यौ । स्वयमसेवक परिचालन पनि गरेका छौ । युवाहरुलाई परामर्श दिने कामहरु पनि गरेका छौ । म आएपछि विज्ञान तथा प्रविधि क्षेत्रका अनुसन्धानका क्षेत्रमा केन्दीत रहेका विद्यार्थीहरुलाई अनुसन्धानमा सहयोय गर्ने कार्यक्रम पनि सञ्चालन गरेका छौं । 

अरु कार्यक्रमका लागि अहिले हामी मध्यभागमा आइपुगेका छौ । बजेट कै चरणबाट नयाँ कार्यक्रमहरुको स्वीकृत र बजेटको परिधि भित्र रहेर काम गर्नुपर्ने भएकाले नयाँ आर्थिक वर्ष आउन बाँकी नै छ । यो छोटो अवधिमा धेरै काम गर्ने अवस्था भइसकेको छैन । 

युवासँग सम्बन्धित युवा स्वरोजगार र युवा परिषद् गठन भएका छन । तर, युवा स्वरोजगारले काम गर्न सकिरहेको छैन । युवा परिषद् र युवा स्वरोजगार संस्थाबीच समन्वय हुन्छ की हुँदैन ? 

युवाका क्षेत्रमा विभिन्न संस्थाहरु सरकारी स्तरमा पनि छन् । अहिले सबैलाई केन्द्रीय गरेर छरिएर रहेका युवाको कार्यक्रमहरु एकीकृत गर्न सके उपलब्धी मुलक हुन्थ्यो । युवा स्वरोजगार कोषले साना उद्योगी र उद्यमी युवाहरुलाई प्रोत्साहन गर्ने र ऋण प्रदान गर्ने काम गर्छ । हामीले युवाहरुलाई पहिचान गरी युवाहरुको समस्याहरुलाई पहिचान गरी त्यसलाई सुत्रगत ढंगबाट छनौट गरी तालिम दिने, उद्यमशिलताको मार्गदर्शन गर्ने र त्यसका निम्ति अभिपे्ररित गर्ने काम गर्छौ ।  

हामीले त्यसरी तयार गरेको युवाहरुलाई युवा स्वरोजगार कोषले कोषको बन्दोबस्त गरिदिएर जाँँदा युवाहरु उद्यमशिलताको पाइलामा थप अगाडी बढ्ने थिए । कतिपय सन्दर्भमा हामीले समन्वय गरेका छौ । अझ मजबुद र व्यवस्थित रुपमा समन्वय भएमा राम्रो परिणाम निकाल्न सक्छौ जस्तो लाग्छ । यसका बाबजुद पनि सरकारले बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई नै अत्यन्त उपेक्षा गरेको पाउँछौ । हामीलाई  बजेट सरकारकै मन्त्रालयबाट नै आउने हो । 

यस अघिको अनुभव हेर्दा सरकारको राष्ट्रिय बजेटको ०.१६ प्रतिशत मात्र बजेट युवा तथा खेलकुद मन्त्रालयमा आउने गर्छ । यो अति नै कम हो । उक्त बजेटको ठुलो हिस्सा राष्ट्रिय खेलकुद परिषद्ले प्रतिनिधित्व गर्दछ । त्यबाट बाँकी रहेका बजेट राष्ट्रिय युवा परिषद्, युवा स्वरोजगार र नेपाल स्काउटमा जाने गर्छ । 

यसले गर्दा एकातिर समन्वय बढाउन जरुरी पनि रहेका छ भने अर्को तर्फ सबै संस्थाहरुको बजेट पनि बढाउन जरुरी छ । नत्र युवाहरुका अपेक्षा धेरै छन् । युवाहरुको दायरा ठूलो छ । तर हाम्रो स्रोत, साधन र बजेट कमजोर अवस्थामा रहेका छन  । त्यसैले हामी पर्याप्त बजेटका लागि माग पनि गरिहेका छौ । त बजेट बिना यी संस्थाहरु पनि चल्न नसक्ने अवस्था छ । यसका लागि सम्बन्धित निकायलाई घच्घच्याइरहेका छौ ।

अन्य देशको तुलनामा नेपालमा युवा जनशक्ति धेरै छन । देशको राजनीतिले युवाहरु आन्दोलन र ढुंगा हान्न मात्र प्रयोग भएको देखिन्छ । उनीहरुलाई व्यवसायी बनाउन सकिदैन ? 

मुलुकको राजनीतिक व्यवस्था, लोकतान्त्रिक व्यवस्था नभएको बेला अवस्था फेर्नका निम्ति व्यवस्था पनि फेर्नुपर्छ भन्ने अवस्थामा युवाहरु, विद्यार्थीहरु मजदुर किसानहरु सडकमा आए । र अग्रभागमा स्थानमा पनि युवाहरु भए । इतिहासको आवश्यकता थियो । त्यसलाई अन्यथा ठान्दिन । मुलुकमा हिजोको राणाकाल र पञ्चायत व्यवस्था नै रहेको भए सचेत युवाहरुले संङघर्षको बलिदान दिएर नयाँ लोकतान्त्रिक प्रणालीको बहाली नगरेको भए, हामी झनै बढी पछाडि रहने थियौ । 

इतिहासको आवश्यकता र मागलाई अन्यथा लिनु भएन । तर नयाँ संविधान जारी गरेर यहाँसम्म आउँदा मुलभुत रुपमा राजनीतिक क्रान्ति, राजनीतिक आन्दोलन पुरा भएको हुनाले अबको बाटो भनेको मुलुकको विकास र समृद्धिमा जाने बेला हो । हिजोका आन्दोलनमा युवाहरु जसरी अग्र भागमा थिए । युवाहरु प्रयोग भए भन्दिन । उनीहरु सचेत रुपमा नै आफ्नो दायित्व महसुस गरेर अघि बढेका हुन् । तर, अब ती युवाहरुलाई विकास, समृद्धि र आर्थिक क्रान्तिको बाटोमा लैजानु पर्ने पक्ष भने सन्तोषजनक हुन सकेको छैन । 

यसमा सरकार र अन्य निकायहरु सबै जिम्मेवार छन् । त्यसैले ती युवाहरुलाई विकास, समृद्धि, रोजगारीका अवसरमा ढाल्नुपर्छ । त्यो क्षेत्रमा काम गर्न अझै बाँकी नै छ । त्यसंैले जनसंख्याको यति ठूलो हिस्सा ओगटेको उत्पादनको अभियानसँग जोडिएन भने मुलुकलाई पश्चागमनको सुरुङतिर धकेल्ने अवस्था रहन्छ । त्यसैले बेलैमा सबै पक्ष सचेत हुन जरुरी छ ।

युवाहरु उद्यमशिलता र उत्पादनमुलक क्षेत्रमा जोडिनु नै राष्ट्रिय आवश्यकता हो । मुलुकको समृद्धि र युवाहरुका लागि हाम्रो क्षेत्रबाट लागिरहेका छौं । पर्याप्त हुन सकेको छैन । त्यसैले हामी अझै जागरुक हुन जरुरी छ । 

युवालाई आर्थिक विकासमा जोड्न स्कुलदेखि उद्यमी र व्यवसायिकताको विकास गराउने पाठ्यक्रम निर्माण गर्न युवा परिषद्ले भुमिका खेल्न सक्छ कि सक्दैन ?

हामीले शिक्षालाई श्रमसित जोड्नु पर्यो र श्रमलाई उत्पादन र रोजगारीसँग जोड्नु पर्यो । उत्पादन र रोजगारीलाई विकास र समृद्धिसँग जोड्नु पर्यो र विकास र समृद्धि संविधानमा उल्लेख गरेको समाजवादको प्रणालीसँग जोड्न्पर्छ भन्ने हाम्रो अभियान छ । शिक्षा र श्रमलाई अलग गर्ने जुन परिपाटीबाट हामी गुज्र्यौ यसले मुलुकलाई सहि गोरेटो दिन सक्दैनौ भन्ने हाम्रो ठहर हो ।

एक विद्यालय एक उद्यम कार्यक्रम सार्नुको तात्पर्यता नै त्यही हो । विद्यालयबाट नै युवाहरुलाई शिक्षालाई व्यवहारिक बनाउने । श्रम र उत्पादन र उद्यमशिलतासँग जोड्ने काम सुरुबाट नै हामीले गर्न जरुरी छ भन्ने अभियान हामीले सञ्चालन गरेका छौ । पाठ्यक्रममा नै व्यवसायिक शिक्षाको विकास गर्नुपर्छ । अहिले गुणस्तरिय शिक्षाका नाममा निजी क्षेत्रले प्रदान गर्ने शिक्षा र त्यहाँबाट उत्पादन भएका युवाहरुको ठूलो हिस्सा विदेश जान बढी लालायत हुने गर्छन् । 

यसका अरु बाध्यता पनि होलान् । यसका साथै हाम्रो शिक्षा नीतिमा नै परिवर्तन र परिमार्जन गर्नुपर्ने देखिन्छ । हामीले उत्पादन गरेका जनशक्ति आफ्नै देशमा बसेर कुटो कोदालो गर्छु भन्ने भन्दा पनि विदेश जान्छु भन्ने रहेका छन् । यससँगै देशलाई माया गर्ने, देशभक्तहरु जन्माउने शिक्षा प्रदान गर्न पाठ्यक्रममा नै परिमार्जन गर्न जरुरी छ । 

जागिरमात्र ठूलो कुरा होइन । स्वरोजगार र उत्पादनशिलता पनि महत्वपूर्ण हो । एउटा व्यक्ति जागिर मात्र नखाएर उद्यमी बन्न सक्यौ भने सयौ मानिसलाई रोजगारी दिन सक्छ । तसर्थ उद्यमशिलतानै महत्वपूर्ण कुरा हो भन्नका निम्ति पाठ्यक्रममा नै सुधारको आवश्यकता छ । पढेका कुराहरुलाई व्यवहारिकता र उत्पादनशिलतामा जोड्न आधारभुत तहबाट नै केन्द्रित गर्नुपर्छ ।  
 

प्रतिक्रिया दिनुहोस