aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चीनसँगको उर्जा सम्झौता रद्द गर्दै श्रीलङ्काले गर्यो भारतसँग नयाँ सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ चैत्र २०७८
चीनसँगको उर्जा सम्झौता रद्द गर्दै श्रीलङ्काले गर्यो भारतसँग नयाँ सम्झौता

एजेन्सी । भारतले श्रीलङ्काको सहर जाफनाका तीनवटा टापुहरूमा हाइब्रिड ऊर्जा आयोजना स्थापना गर्ने भएको छ । यो आयोजना यसअघि चीनले बनाउने निर्णय भएको थियो । यस सम्बन्धमा गत वर्ष कोलम्बो र बेइजिङमा सम्झौता भएको थियो । 

भारतिय समाचार संस्था ‘द हिन्दू’ को रिपोर्ट अनुसार भारतका विदेशमन्त्री एस जयशंकर र उनका श्रीलंकाली समकक्षी जीएल पेरिसबीच यस परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसअघि भारतले श्रीलंकाको पूर्वी सहर सामपुरमा नेशनल थर्मल पावर कर्पोरेशनको सौर्य उद्यम र उत्तरमा मन्नार र पुनरिनमा अदानी समूहको नवीकरणीय ऊर्जा परियोजनाका लागि सम्झौताहरू हस्ताक्षर गरिसकेको छ। यो भारतको तेस्रो विद्युत परियोजना हो। 

यस अघि जनवरी २०२१ मा श्रीलंकाको मन्त्रिपरिषद्ले चिनियाँ फर्म  सिनोसोअर–एटेकविनलाई नैनाटिवु, डेल्फ्ट वा नेदुन्थीवु र अनालिटिवु टापुहरूमा नवीकरणीय ऊर्जा परियोजनाहरू निर्माण गर्न अनुमोदन गरेको थियो। यसपछि भारतले तमिलनाडुबाट ५० किलोमिटर टाढा रहेको खाडीमा चिनियाँ परियोजना आएकोमा चिन्ता व्यक्त गरेको थियो ।  

अब भारतले ऋणको सट्टा अनुदानमा यो आयोजना पूरा गर्नेछ । कोलम्बोले यो आयोजना निर्माण गर्न अन्तिम स्वीकृति दिन एक वर्षभन्दा बढी समय लगाएको थियो । यसपछि कोलम्बोले आयोजना स्थगित गरेको थियो, त्यसपछि चीन यस परियोजनाबाट बाहिरिएको थियो । यस सम्बन्धमा भर्खरै आयोजित पत्रकार सम्मेलनमा कोलम्बोस्थित चिनियाँ राजदूतले अज्ञात कारणले आयोजना अलपत्र परेको भन्दै त्यसले विदेशी लगानीकर्तामा गलत सन्देश गएको बताएका छन् ।

यसैबीच, भारत र श्रीलंकाले समुद्री उद्धार समन्वय केन्द्र स्थापना गर्न पनि सहमति जनाएका छन्। यसका लागि गत साता मन्त्रिपरिषद्ले ६० लाख डलरको भारतीय अनुदान स्वीकृत गरेको थियो । यस अन्तर्गत भारतले उत्तरी प्रान्तको प्वाइन्ट पेड्रो, पेसलाई र गुरुनगरमा माछा मार्ने बन्दरगाह विकास गर्न मद्दत गर्नेछ।  

प्रतिक्रिया दिनुहोस