aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

‘श्रोत बिनाको पैसा चुनावमा खर्च गर्न नेताहरु मुठ्ठीमा लिएर बसेका छन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० चैत्र २०७८
‘श्रोत बिनाको पैसा चुनावमा खर्च गर्न नेताहरु मुठ्ठीमा लिएर बसेका छन्’

नेपाली अर्थतन्त्रका अधिकांश परिसूचकहरु घटेका छन् । व्यापार घाटा हालसम्म कै उच्च छ । शोधानान्तर स्थिति उच्च घाटामा छ । रेमिट्यान्स भित्रिने क्रम पनि घट्दो छ । मूल्य वृद्धि पनि अनुमान गरिएको भन्दा बढी पुगेको छ । यी सबै कुरा हेर्दा अर्थतन्त्र स्लोडाउन भयो भनिएको छ । तर, अहिले नेपाली अर्थतन्त्र मन्दीकै अवस्थामा भने नगएको केहि अर्थविदहरुले बताइरहेका छन् । 

बैंकहरुमा ऋण माग्नेहरुको संख्या घटेको छैन । यसको मतलव काम गर्ने वातावरण छ भन्ने हो नि ? त्यतिमात्र होइन धेरैजसो बैंकहरुको खराब कर्जा एक प्रतिशतभन्दा कम रहेको देखिन्छ । यसरी हेर्दा नेपालीहरुमा ऋण तिर्न सक्ने क्षमता अहिलेसम्मको तथ्यांक हेर्दा घटेको छैन । यी सबै कुराहरुलाई हेरेर नेपाली अर्थतन्त्रमा मन्दी आयो भन्ने कुरामा म सहमत छैन । 

कोरोना महामारीको बेलामा आर्थिक क्रियाकलाप सूचारु गर्न सहज थिएन । तर, कोरोनापछि भने मानिसहरुमा उत्साह जागेको छ । अब लगानी नगर्ने हो भने अर्थतन्त्रले दिएको नाफाबाट हामी बञ्चित हुनुपर्छ भन्ने धेरैलाई भएको छ । जसले गर्दा लगानी गर्नेहरुको संख्या बढ्दो रहेको देखिन्छ । 

पुँजीगत खर्च सरकारले गर्न सकेको छैन । अहिले श्रोत बिना आर्जन भएका सम्पत्ति चुनावमा खर्च गर्न कतिपय पार्टीका नेताहरु तम्तयार भएर बसेका छन् । ती नेताहरुसंग भएको पैसा बैंक तथा वित्तीय संस्थामा रोखिएको छैन । बैंक वित्तीय संस्थामा राख्न श्रोत देखाउनु पर्ने हुन्छ । जसले गर्दा उनीहरुले चुनावमा खर्च गर्न भनेर मुठ्ठीमा पैसा राखेर बसेको अवस्था छ ।   

नेपाल राष्ट्र बैंकले एक दिनमा सात लाख रुपैयाँभन्दा बढी पैसा निकाल्न दिदैन । यदि त्योभन्दा बढी निकाल्नु पर्यो भने श्रोत खुलाउनु पर्ने हुन्छ । विभिन्न प्रश्न सोध्ने गरिन्छ । कतिपयले यो प्रक्रिया झन्झटिलो मानेका छन् । यदि कुनै व्यक्तिलाई १५ लाख आवश्यक परेको छ भने उसले २ दिन कुर्नु पर्ने हुन्छ । यसो हुँदा अनिश्चित हुने भयो । जसले गर्दा आफूसंग भएको पैसा घरमै राखेर आवश्यक अनुसार चलाउनु पर्छ भन्ने सोचले पनि वित्तीय संस्थामा पैसा नआएको हुनसक्छ । 

दुई चार पैसा भएका र बचत गर्न सक्नेहरुले क्रिप्टोकरेन्सीमा लगानी गर्यो भने नाफा हुने रहेछ भनेर उक्सिएर लुकिछिपी लगानी गरेका छन् भन्ने पनि सुनिन्छ । अब नेपालमा पनि क्रिप्टोकरेन्सीको वैधानिकता र व्यवस्थापनबारे अध्ययन भइरहेको छ भन्ने हल्ला छ । यसले गर्दा पनि यसमा लुकिछिपी लगानी गर्नेहरु होलान भन्ने लाग्छ । 

सन् २०२१ को अप्रिलमा एउटा क्रिप्टोकरेन्सीको मूल्य ६७ हजार डलर पुगेको थियो । त्यसको चार पाँच महिनापछि नै त्यसको भाउ घटेर ३७ हजार डलरमा आएछ । चार महिनामै यतिका धेरै घट्नु भनेको घोर जुवा सरह भयो । र, पनि नेपालीहरु त्यस्तो ठाउँमा आकर्षित भएर हामीले यसलाई मान्यता दिनु पर्छ भनेर लागि परेका छन् । यसो हुँदा केहि मानिसहरु यसमा रमाइरहेका छन् है भन्न सकिन्छ । यस क्षेत्रमा पनि पुँजी पलायन भएको छ भन्न सकिन्छ । 

अघिल्ला वर्षको तुलनामा रेमिट्यान्स आयात घटिरहेको छ । परिवारको भरणपोषणकका लागि विदेशीएकाहरु परिवारलाई पैसा नपठाई पक्कै बसेका छैनन । उसको भए कसरी पठाए भन्ने पनि आउँछ । यहाँबाट टाठाबाठाहरु गएर उनीहरुले ती विदेशीएकाहरुलाई बैंकबाट नेपाल पैसा पठाउने भन्दा बढी दिन्छौं भनेर आशा देखाएर पैसा लिएका हुनसक्छन् । उनीहरुबाट लिएको त्यो रकम समान आयातमा गएको जस्तो देखिन्छ । जसमा सबैभन्दा बढी सुनचाँदी आयातमा खर्च गरिएको छ की भन्ने देखिन्छ । नेपालमा अर्बौं रुपैयाँको सुन चाँदी आयात भएको छ । सुनचाँदी आयात गर्नका लागि त्यस्तो रकम बाहिरबाट च्यानल मिलाएर नेपाल भित्र सामाग्रीको रुपमा आएको जस्तो देखिन्छ । यी कुराहरुमा पुँजी पलायन भएको जस्तो देखिन्छ ।  

अहिले इन्धनको मूल्य निरन्तर बढीरहेको छ । इन्धन आपूर्तिकर्ताहरुले कमिसन बढेन भने हामी इन्धन बेच्दैनौं भनेर घुर्कि लगाइरहेका छन् । तेलको भाउ बढेको बढ्यै छ त्यसमा पनि कमिसन बढाउनु पर्ने भयो भने यसको मार सर्वसाधरणलाई नै पर्ने हो । सर्वसाधरणलाई परेको मार्का प्रति सरकार पनि संवेदनशिल नभएको जस्तो देखिन्छ । 

शिक्षकका लागि आफ्नै अस्पताल, मजदुरहरुका लागि छुट्टै अस्पताल, ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोलिने भनिएको छ । सबैको आ–आफ्नो अस्पताल हुने भयो । यसो हुँदा नेपाली जनता भनेको को हुन् ? सबैले आ–आफ्नो खोज्दै हिड्ने हो भने जो बलियो छ उसले श्रोत र साधन लैजाने गर्छ । यो परिपाटी बढ्दै गएमा नेपाली अर्थतन्त्रले नराम्ररी घुँडा टेक्छ । 

सरकारले पूँजिगत खर्च गर्ने नसकिरहेको अवस्थामा निर्माण व्यवसायीहरुले घुर्की लगाउने खोजीएको जस्तो देखिएको छ । सबैतिरबाट मार्का परियो भन्दै सरकारलाई अफ्ठ्यारो पारेर आफ्नो माग सम्बोधन गर्न खोज्दा नेपाली जनतालाई नै थप मार्का पर्ने छ । यसरी सबैतिरबाट जनतालाई नै मार्का थुपार्ने हो भने जनता जनार्दन होइनन् विचरा भन्नु पर्ने अवस्था आउँछ । उनीहरुमा विद्रोहको विष्फोटन भयो भने कसैले पनि छेक्न सक्दैनन । 

यदि निर्माण व्यवसायीले कन्स्ट्रक्सन होली डे मनाए भने निर्माणका सबै काम ठप्प हुन्छन् । यसो हुँदा ढुवानीमा लाग्नेहरुले पनि हामी हड्ताल गर्छौं भन्ने दिन आउँला । यातायात क्षेत्रकाहरु पनि आन्दोलन गर्लान । त्यति मात्रै होइन सर्वसाधरण पनि सडकमा आउन सक्छन् । यसो भएमा अर्थतन्त्र र सामाजिक संरचना सबैमा थप चुनौति आउँन सक्छ ।

(योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीसंग आर्थिक न्युज डटकमकी रिता राउतले गरेको कुराकानीमा आधारित) 
 

प्रतिक्रिया दिनुहोस