
काठमाडौं । कोभिड–१९ कम भएपछि लयमा फर्किन थालेका सिमेन्ट तथा डन्डी उद्योग फेरि लोडशेडिङको मारमा परेका छन् । यी वस्तुको उत्पादन र माग बढ्ने विकास निर्माणको मुख्य सिजनमा नियमित बिजुली नपाउँदा उत्पादन नै कटौती गर्न थालेको उद्योगीहरूले बताएका छन् ।
नेपालले हिउँदमा भारतबाट विद्युत् आयात गर्छ । तर, यसपटक भारतीय बजारमै विद्युत्को अभाव देखियो । विशेषगरी कोइलाको अभाव भएपछि भारतमै बिजुली उत्पादन कम भई मूल्य आकाशिएको छ । त्यसले गर्दा नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको दरमा विद्युत् किन्न पाएन । अहिले भने प्राधिकरणले अधिकतम दरमै भए पनि बिजुली किन्ने गरी मूल्य प्रस्ताव गर्न थालेको बताएको छ । तैपनि मागअनुसार बिजुली नपाउँदा उद्योगहरूमा आपूर्ति नियमित हुन नसकेको बताइन्छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णु अग्रवालले उद्योगहरूले नियमित बिजुली नपाएको बताए । प्राधिकरणले महँगोरसस्तो जुन दरमा भए पनि नियमित र गुणस्तरीय बिजुली दिनुपर्ने उनी बताउँछन् । ‘विद्युत् आपूर्तिमा समस्या हुँदा स्थानीयका साथै वैदेशिक लगानीकर्ता हतोत्साहित हुन सक्छन्,’ अग्रवालले भने, ‘उत्पादनको लागत बढेको छ, यसलाई कम गर्न सरकार तथा प्राधिकरण जिम्मेवार हुनुपर्छ ।’
यसैगरी, नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले उद्योगहरूले १२/१३ घण्टा लोडशेडिङ झेलिरहेको बताए । ‘एकातिर लोडशेडिङ छ, अर्कोतिर ६ मेगावाट बिजुली चाहिने उद्योगले ३ मेगावाट मात्र पाइरहेको छ,’ पोखरेलले भने, ‘बिजुली आधामात्र पाएकाले उद्योग नै धराशयी हुने देखियो ।’ बिजुली नपाउँदा उत्पादन र विक्री चक्र बिग्रने हुँदा बैंक ब्याज बढ्नुका साथै तरलता अभाव हुने अवस्था आएको उनले बताए ।
दुई सातादेखि विद्युत् आपूर्तिमा नियमितता नभएको उनले बताए । ‘कोभिडपछि उत्पादनले आकार लिइसकेको थियो,’ उनले भने, ‘विकास निर्माणका कामले गति लिन थालिसकेको अवस्थामा देखिएको ऊर्जा समस्याले पुनः अप्ठ्यारोमा पारेको छ ।’ नेपालमा वर्षा याममा बिजुली खेर जाने तर हिउँदमा बिजुलीकै अभावमा उद्योगहरू धराशयी हुने अवस्था आएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस