aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ चैत्र २०७८
प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको तीन दिने औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । 

देउवा स्थानीय समयानुसार शुक्रबार दिउँसो २ः५० बजे भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । 

शुक्रबार दिउँसो ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । शुक्रबारको कार्यक्रम यही अन्त हुनेछ । 

शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता कार्यक्रम रहेको छ । मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ । 

शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली हुँदै उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन् । 
भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरू, सचिवहरू तथा पदाधिकारीहरु रहेका छन् । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस