aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बजेटको आकार बढाउँदा आयात पनि बढ्ने

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • शुक्रबार, १८ चैत्र २०७८
बजेटको आकार बढाउँदा आयात पनि बढ्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले राजस्वमा थप दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ । हरेक आर्थिक वर्षमा सरकारले बजेटको आकार बढाउँदै गएको छ र बजेटको आकार बढ्दा राजस्वको लक्ष्य पनि बढ्दै गएको छ ।

राजस्वको लागि आयातकै भर पर्नुपर्ने हुन्छ, किनकि नेपालको कुल राजस्वमा आधाजति योगदान आयातबाट आउने राजस्वको रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांकअनुसार ४८.६३ प्रतिशत राजस्व आयातबाट संकलन भएको छ ।
राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई आगामी आवको बजेटका लागि १७ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको सिलिङ दिएको छ ।

बजेटको स्रोत पूरा गर्न सरकारलाई आयातमा नै भर पर्नुपर्ने देखिन्छ, किनकि १७ खर्ब ४४ अर्ब बराबरको बजेटमा प्रमुख स्रोतका रुपमा १३ खर्ब ५९ अर्ब राजस्व छ । लक्ष्यको आधा आयातबाट आउने भएका कारण सरकारलाई करिब पौने ८ खर्ब आयातबाट प्राप्त हुने राजस्वमा भर पर्नुपर्छ । यसका कारण सरकारले नै आयातलाई प्राथमिकता नदिए सरकारको राजस्व लक्ष्य प्राप्त हुँदैन ।

अर्थ मन्त्रालयले बजेटको स्रोतका रुपमा राजस्व, अनुदान, आन्तरिक र वैदेशिक ऋण प्रयोग गर्ने गरेको छ । त्यसमा पनि पछिल्ला वर्षहरुमा अनुदानको रकम घट्दै गएको देखिन्छ । आन्तरिक ऋणका सन्दर्भमा पनि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले एउटा सीमा तोक्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस