
काठमाडौँ। चैत्र १७ गते पशुपति विकास कोषका कर्मचारीहरू प्रहरी, पत्रकार सहितको ठुलो सङ्ख्याको दलबल सहित नेपाल-भारत मैत्री पशुपति धर्मशाला पुगे। उनीहरू कोषले बतास समूह अन्तर्गतको होटेल आनन्दलाई धर्मशाला भाडामा दिएकोमा सो सम्झौता भङ्ग गरिएको पत्र बुझाउन त्यहाँ गएका थिए। तर, दिनभरको सो प्रयास सफल हुन सकेन।
राती साढे ९ बजेसम्म पनि कुनै ढङ्गले पत्र बुझाउन सकिन्छ कि भनेर कोषका कर्मचारीले अनेकौँ जुक्ति लगाए। केही सिप नलागेपछि पत्र टाँस्ने निष्कर्षमा पुगे। तर, पत्र टाँस गरिएको मुचुल्कामा हस्ताक्षर गरेर साक्षी बस्ने कोही मानिस पाएनन्। स्थानीय जनप्रतिनिधि देखी प्रहरीसम्मलाई साक्षी बसिदिन बारम्बार अनुरोध गर्दा समेत कोही राजी भएनन्।
यस्तो अवस्था आउनुको मुख्य कारण थियो- १७ गते बिहीबार नै उच्च अदालतले २१ गतेको लागी दुवै पक्षलाई छलफलमा बोलाउने भनी गरेको आदेश। यसरी अदालतले एक खालको आदेश दिएको अवस्थामा अदालतको नै मानहानि हुने गरी कोही साक्षी नबस्दा कोषका कर्मचारी निराश भएर फर्किए।
उनीहरू फर्किए सँगै कोषले १४ गते गरेको करार भङ्ग गर्ने निर्णय र सो निर्णयको आधारमा बतास समूहलाई भङ्ग भएको जानकारी दिनेगरि तयार गरिएको पत्र सार्वजनिक हुन सकेन। तर, कोषले बतास समूहलाई बुझाउन भनी तयार गरेको पत्र आर्थिक न्युजले फेला पारेको छ।
कोषले बतासलाई बुझाउन नसकेको सो पत्रमा चैत्र १७ गते देखि करार भङ्ग गरिएको र त्यहाँ रहेका तीर्थयात्री एवं भक्तजनको सुविधाको लागि धर्मशाला निरन्तर सञ्चालन गर्ने गरी सोही मितिदेखि कोष व्यवस्थापनले जिम्मा लिने कुरा समेत उल्लेख छ। त्यस बाहेक पत्रमा बतास समूहबाट क्षतिपूर्ति असुल उपर गर्न मुद्दा हाल्ने कुरा समेत बतासलाई बुझाउन तयार गरिएको पत्रमा उल्लेख छ।
सो पत्रमा सम्झौता भङ्ग गर्नुको मूल ४ वटा शीर्षकहरू र सो मूल शीर्षकका अन्य उपशीर्षकहरूमा उल्लेख भएका कारणहरू बारे भनिएको छ - 'लिजमा लिनु भएको सम्पत्ति असल नियतले विवेकपूर्ण ढङ्गबाट प्रयोग नगरी करारको मूल उद्देश्य विपरीत हुने गरी सर्तहरूको गम्भीर उल्लङ्घन गरेको भन्ने कुरामा कोष विश्वस्त हुने तथ्यहरू अवगत हुन आई (१) धर्मशाला भवनलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिएको सम्बन्धमा, (२) धर्मशाला भवनको बैड सङ्ख्या र दर रेट फरक पारी व्यवसाय गरेको सम्बन्धमा (३) सम्झौताको सर्तमा लेखिएको प्रावधान विपरीत थप निर्माण एवं जडान सम्बन्धमा ….पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को मिति २०७८/१२/१४ गते बसेको बैठकले पशुपति क्षेत्र विकास कोष प्रथम पक्ष र त्यहाँ होटेल आनन्द प्रा.लिई. दोस्रो पक्ष भई मिति २०७४।०१।३० मा सम्पन्न भएको करार सम्झौता तल उल्लेखित आधारहरूमा भङ्ग रद्द गर्ने निर्णय' गरिएको छ।
पत्रमा अगाडी उल्लेख छ, 'धर्मशालाको सेवा सुविधा बन्द हुन नदिई निरन्तर सञ्चालन गर्नका लागि तत्काल थप व्यवस्थापन गर्नुपर्ने र सोको प्रचलित कानुन बमोजिम सार्वजनिक सूचना प्रकाशित गरी प्रस्ताव आव्हान गर्न सम्भव नभएकोले सरकारी निकायको रूपमा रहेको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत व्यवस्थापन गर्ने नीतिगत निर्णय समेत भएको जानकारी गराउँदै त्यहाँ होटेल आनन्द प्रा.लिई. र पशुपति क्षेत्र विकास कोष बिच मिति २०७६।०१।३० को करार मिति २०७८/१२/१७ गतेबाट रद्द भएको जानकारी यसै पत्र साथ गराइएको छ।'
हेर्नुहोस्, कोषले बतास समूहलाई सम्झौता भङ्ग गरिएको जानकारी दिन तयार गरेको पत्रको पूर्ण पाठ :
प्रतिक्रिया दिनुहोस