
एजेन्सी । अप्रिल महिनाको सुरुदेखि नै देशमा बढेको चर्को गर्मीले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । यस वर्ष मार्चमा नै गर्मीले तीव्रता देखाउन थालेको छ । मौसम विभागका अनुसार यस वर्षको मार्चमा तापक्रमले १२१ वर्षको कीर्तिमान तोडेको छ । सन् १९०१ यता पहिलोपटक मार्चमा देशका धेरै सहरमा पारा ४० डिग्री नाघेको थियो । यस वर्ष मार्चमा औसत अधिकतम तापक्रम सन् १९०१ यता सामान्यभन्दा १.८६ डिग्री सेल्सियस बढी थियो ।
अबको केही दिनमा देशका ९ राज्यमा गर्मीको सम्भावना रहेको छ । मौसम विभागका अनुसार चर्को गर्मीको कारण थाहा पाउनुअघि यस वर्षको मार्च महिनामा औसत दिनको तापक्रम ३३ दशमलव १ डिग्री सेल्सियस थियो भने सन् १९०१ मा औसत तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस थियो । यस वर्ष मार्चमा सबैभन्दा बढी तापक्रम उत्तर–पश्चिम र मध्य भारतमा रेकर्ड गरिएको थियो। राजधानी दिल्लीको औसत तापक्रम ३६.८ डिग्री सेल्सियसमा रेकर्ड गरिएको छ। सुख्खा हावा अझै कायमै रहेको र आगामी १० दिनसम्म पानी पर्ने वा चिसो हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका एक अधिकारीले जानकारी दिए । यस्तो अवस्थामा तापक्रम अझै बढ्न सक्छ ।
मौसम विभागका अनुसार यस वर्षको मार्च महिनामा औसत ८.९ मिलिमिटर वर्षा भएको छ । जुन ३०.४ मिलिमिटरको लामो अवधिको औसत (एलपीए) भन्दा ७१ प्रतिशतले कम हो । यसअघि सन् १९०९ मार्चमा ७.२ मिलिमिटर वर्षा भएको थियो भने सन् १९०८ मा ८.७ मिलिमिटर वर्षा भएको थियो । यस्तो अवस्थामा गत महिना सन् १९०१ यताकै तेस्रो कम वर्षा भएको हो ।
चेतावनी जारी गर्दै आईएमडीले आगामी केही दिनमा मध्य प्रदेश, राजस्थान, पूर्वी उत्तर प्रदेश, छत्तीसगढ, हरियाणा, दिल्ली, गुजरात, झारखण्ड र विदर्भ क्षेत्रमा गर्मीको लहर आउन सक्ने बताएको छ । यस अवधिमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । राष्ट्रिय राजधानी दिल्लीमा अप्रिल ४ देखि ८ सम्म तापमान ४० देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस