
एजेन्सी । पाकिस्तानमा अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि विपक्षी दल सर्वोच्च अदालत पुगेका छन् । विपक्षी दलको निवेदन सुनुवाइ गर्न सर्वोच्चले विशेष इजलास गठन गरेको छ । यस्तो अवस्थामा पाकिस्तानमा राजनीतिक उथलपुथल हुने सम्भावना बढेको छ ।
अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि विपक्षी नेताहरुले उग्र रुप लिएका छन् । उनीहरु संसदमै छिरेका छन् । संसदको सुरक्षाका लागि करिब ६ हजार सुरक्षाकर्मी त्यहाँ रहेको बताइएको छ । यहाँ शाहबाज शरीफले इमरान खानमाथि हमला गर्दै आफू देशद्रोही भएको बताएका छन् । देश टुक्राउने र गृहयुद्धतिर धकेल्ने काम गरेको आरोप समेत लगाएका छन ।
प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले संसद भंग गरेका छन् । ९० दिनभित्र निर्वाचन हुने बताइएको छ । पाकिस्तानी जनतालाई सम्बोधन गर्दै इमरान खानले स्पिकरको निर्णयका लागि हरेक पाकिस्तानीलाई बधाई दिएका थिए ।
उनले भने, ‘अविश्वासको प्रस्ताव हाम्रो विरुद्धमा विदेशी षड्यन्त्र थियो । उनीहरूलाई कसले शासन गर्छ भन्ने निर्णय पाकिस्तानले गर्नुपर्छ। कुनै पनि विदेशी शक्तिलाई यो निर्णय गर्ने अधिकार छैन । सभा विघटन गर्न राष्ट्रपतिलाई पत्र लेखेको छु । निर्वाचन लोकतान्त्रिक ढंगले हुनुपर्छ । म पाकिस्तानी जनतालाई चुनावको तयारी गर्न आह्वान गर्दछु ।’
प्रतिक्रिया दिनुहोस