
काठमाडौं । नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भ हो, रेमिट्यान्स । शिक्षा, स्वास्थ्य, गरिबी न्युनीकरण र अर्थतन्त्रको दरीलो खम्बाका रुपमा रेमिट्यान्सलाई लिन सकिन्छ । देशको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा ओगटेको रेमिट्यान्स आप्रवाह भने निरन्तर घटिरहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले कमी आई ५४० अर्ब १२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । जबकी सोहि अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य रुपमा वृद्धि भई २ लाख १०२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो ।
नेपालमा भित्रिने रेमिट्यान्स मार्फत आउने विदेशी पैसा अन्य वस्तुमार्फत आयात भएको हुनसक्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री बताउँछन् । ‘परिवारको भरण पोषणकका लागि विदेशीएकाहरु परिवारलाई पैसा नपठाई पक्कै बसेका छैनन । रेमिट्यान्स मार्फत आउनु पर्ने उनीहरुको पैसा बाहिरबाट च्यानल मिलाएर अन्तै डाइभर्ट भएको छ । जसबाट सुन लगायत अन्य महँगा समान आयात भएको देखिन्छ ।’
त्यस्तै, नेपालमा आयात मूखी व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले विदेशमा नेपालीहरुले कमाएको पैसाको दुरुपयोग गर्न थालेकोले नेपालमा रेमिट्यान्स कम आएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘व्यापारीहरुले वैद्यानिक च्यानहरुबाट रकम पठाउँदा केहि महँगो पर्ने भएकोले विदेशमा रहेका नेपालीहरुको कमाई उनीहरुले खरिद गरेको समानको भुक्तानीका रुपमा प्रयोग गर्दै आएका छन् । यसको मतलब नेपालमा रेमिट्यान्सको आँकडा नबढ्नुमा रेमिट्यान्सको ‘ब्ल्याक मार्केट’ हुण्डी मौलाउनु नै हो ।’
यसअघि विदेश जाने नेपालीहरुको संख्या कम भएका कारण रेमिट्यान्स आउन पनि कम भएको हुनसक्ने रेमिट्यान्स एशोसिएसनका पूर्व अध्यक्ष तथा आइएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुमन पोखरेल बताउँछन् । उनी भन्छन्, ‘विगत दुई वर्षदेखि विदेशमा काम गर्न जाने नेपालीहरुको संख्या अत्यन्त न्युन रहेका कारण रेमिट्यान्स घट्नु स्वभाविक हो । तर, केहि महिनादेखि विदेश जाने नेपालीहरु बढेका छन् । जसले गर्दा रेमिट्यान्स भित्रिने क्रम पनि बढिरहेको छ ।’
गत मार्च महिनामा आइएमई रेमिट मार्फत भित्रिने रेमिट्यान्समा वृद्धि भएको उनले जानकारी दिए । ‘गत दुई महिनाको तथ्यांकलाई विश्लेषण गर्यो भने नेपालमा रेमिट्यान्स आप्रवाह वृद्धि भइरहेको देखिन्छ । यसले के देखाउँछ भने अब विस्तारै रेमिट्यान्स आउने क्रम बढ्छ ।’
नेपाल राष्ट्र बैंकले सुन लगायत आयातित वस्तुहरुमा गरेको कडाईका कारण गत मार्च महिनामा भने रेमिट्यान्स बढेको नेपाली मुद्रा विप्रेषक संघका कार्यसमिति सदस्य तथा वेष्टर्न युनियन (हुलास रेमिट)का प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिवाकर पौडेल बताउँछन् । उनी भन्छन्, ‘वेष्टर्न युनियनको मार्फत भित्रिने रेमिट्यान्सको कुरा गर्ने हो भने गत मार्च महिनामा बढेको छ । यस महिना हाम्रोमा धेरैजसो कतार, साउदी मार्फत रेमिट्यान्स आएको छ । नेपाल राष्ट्र बैंकले सुन लगायत आयातमा मार्जिन राख्नु पर्ने नीति ल्याएर कडाई गरेका कारण रेमिट्यान्समा सुधार आएको हो ।’
नेपालमा आउने रेमिट्यान्स डाइभर्ट भएको हो की भन्नेमा आशंका रहेको पनि सिईओ पौडेल बताउँछन् । उनी भन्छन्, ‘विदेशबाट नेपाल आउने व्यक्तिहरुले सुन, ल्यापटप, महगा फोन(आइफोन) लगायत महँगा अन्य समानहरु ल्याउने गरेका छन् । यसले गर्दा रेमिट्यान्समा आउनु पर्ने रकम यी समानहरु मार्फत नेपाल भित्रिएको छ । नेपालमा आउने रेमिट्यान्स विभिन्न सामानहरुमा डाइभर्ट भएको हुनसक्छ ।’
प्रतिक्रिया दिनुहोस