aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सिमरा सेजमा २ ब्लक निर्माणका लागि बहुराष्ट्रिय कम्पनी ल्याइने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, २१ चैत्र २०७८
सिमरा सेजमा २ ब्लक निर्माणका लागि बहुराष्ट्रिय कम्पनी ल्याइने

काठमाडौं । बारास्थित सिमरा विशेष आर्थिक क्षेत्र (सेज)का दुईओटा ब्लकको पूर्वाधार निर्माणमा बहुराष्ट्रिय कम्पनी ल्याउने तयारी भएको छ । सिमरा सेजको बी र सी ब्लकको २ सय बिगाहा जग्गामा पूर्वाधार बनाउन विदेशी कम्पनी ल्याउने तयारी विशेष आर्थिक क्षेत्र प्राधिकरणले गरेको हो ।

उक्त सेजको ए ब्लक बनिसकेको छ । कुल पाँचओटा ब्लकमध्ये बी र सीमा आवश्यक पर्ने पूर्वाधार बनाउन चीन, भारतलगायत देशका बहुराष्ट्रिय कम्पनीलाई प्रस्ताव गर्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए । ८ सय १४ बिगाहामा फैलिएको यो सेजको पूर्वाधार निर्माणदेखि नै निजीक्षेत्रलाई प्रवेश गराउने योजनाअनुसार विदेशी कम्पनी, लगानीकर्ता र मार्केटिङको तयारी गरिएको उनले बताए ।

आइतबार प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा०बीच सिमरा सेजका ती ब्लकमा पूर्वाधार निर्माण गर्न लगानी सहकार्य गर्ने समझदारी भएको छ । ती ब्लकको पूर्वाधार निर्माणदेखि नै त्यस्ता कम्पनी ल्याउन पहल गरिने समझदारी भएको भट्टले बताए । ‘सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाअनुरूप सेजको पूर्वाधार निर्माणमै निजीक्षेत्र र बहुराष्ट्रिय कम्पनी ल्याउनेछौं,’ भट्टले भने, ‘त्यस्ता साझेदार ल्याउन निफ्राले काम गर्नेछ ।’

निफ्राले पनि सेजमा लगानी गर्नेछ । नयाँ लगानीकर्ता ल्याउन र सेजको उद्देश्यअनुसार निर्यातको वातावरण तयार गर्न पनि विदेशी कम्पनी ल्याउनु आवश्यक भएको उनले बताए । अहिलेसम्म सेजमा निर्माण हुने पूर्वाधारमा सरकारले मात्रै लगानी गर्दै आएको छ । यसअनुसार सिमरा सेजको ए ब्लकमा खानेपानी, बिजुली, प्रशासनिक भवन, ढल निकास, बाटो लगायत पूर्वाधार निर्माणमा सरकारले ३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस