aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

उपकुलपति नियुक्तिका लागि चलखेल सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
उपकुलपति नियुक्तिका लागि चलखेल सुरु

प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलोका रुपमा रहेको देशभरका विश्वविद्यालयहरुमा राजनीतिक पहुँच र आस्थाका आधारमा उपकुलपति नियुक्ति हत्याउन विभिन्न व्यक्ति दौडधुपमा लाग्न थालेका छन् ।

यसअघि धेरैपटक लाभको पदमा बसेर भरमग्दुर फाइदा लिएका व्यक्ति नै पुनः उपकुलपति बन्न राजनीतिक रूपमा लबिङ गरिरहेका हुन् । उपकुलपति पद आफ्नो पोल्टामा पार्न विशेषत सत्तारूढ दल नेकपा निकटका प्राध्यापकहरूले उच्च तहका नेतासँग लबिङ गरिरहेको स्रोतले बताएको छ ।

त्रिभुवन विश्वविद्यालयसहित नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आगामी ५ भदौबाट उपकुलपति रिक्त हुँदै छ ।

ती विश्वविद्यालयको उपकुलपति आफ्नो पोल्टामा पार्न दौडधुप र राजनीतिक लबिङ सुरु भएको हो । कहिले प्राध्यापक नियुक्तिमा भागबन्डा त कहिले अंक चढाएर विद्यार्थीलाई सर्वोत्कृष्ट बनाएको भन्दै विवादमा तानिएका ती विश्वविद्यालयमा यतिबेला उपकुलपति नियुक्तिको चलखेल सुरु भएको हो ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नेकपा निकटका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेल प्रमुख दाबेदारका रूपमा लबिङ गरिरहेका छन् । प्रा.डा. पौडेल त्रिभुवन विश्वविद्यालयका पूर्वरजिस्ट्रारसमेत भइसकेका छन् ।

यस्तै, प्रा. गणेशमान गुरुङ पनि उपकुलपतिका लागि दौडधुप गरिरहेका छन् । उनी पूर्वसांसदसमेत हुन् । यस्तै, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष यादव लामिछाने पनि आन्तरिक लबिङमा लागिरहेको स्र्रोतले बताएको छ ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयका हालका रजिस्ट्रार डिल्लीराम उप्रेती, प्रा. डा. अरुण सायमी र त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले पनि उपकुलपति पदका लागि लबिङ गरिरहेको स्रोतले जानकारी दिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा कार्यरत एक प्राध्यापकका अनुसार विश्वविद्यालयका उपकुलपतिको दाबेदारमा प्रा.डा. रामकृष्ण तिवारी पनि लबिङमा छन् । उनी त्रिवीअन्तर्गत राजनीतिशास्त्र केन्द्रीय विभागमा कार्यरत छन् ।

यस्तै, प्राध्यापक कृष्ण पोख्रेल पनि उपकुलपतिका लागि राजनीतिक लबिङमा छन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस