aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

मेलम्चीको पानी काठमाडौं पठाउने तयारी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, २५ चैत्र २०७८
मेलम्चीको पानी काठमाडौं पठाउने तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । बाढी र पहिरोले क्षतिग्रस्त आयोजना क्षेत्रको सफाइ र मर्मतका काम सकिएसँगै मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी भएको हो ।

गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाका संरचना क्षतिग्रस्त बनेका थिए । नेपाल सरकारले मेलम्ची खानेपानी आयोजना यही चैत मसान्तभित्र सञ्चालन गर्ने लक्ष्य लिएको छ । आयोजनाका प्रमुख कार्यकारी निर्देशक वासुदेव पौड्यालले क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मतको काम पूरा भई पानी पथान्तरणको तयारी भइरहेको जानकारी दिए । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समयसीमाभित्र पानी काठमाडौँ ल्याउने गरी कार्ययोजना बनाएका थिए । उनले त्यसअनुरूप काम भए नभएकोबारे पटक–पटक स्थलगत निरीक्षण गर्दै आएका थिए । 

मेलम्ची खानेपानी आयोजना विकास समितिका वरिष्ठ इन्जिनियरसहित डेढ दर्जनभन्दा बढी प्राविधिक टोली आयोजना क्षेत्रमा खटिएका छन् । आयोजनाको मुख्यद्वारमा थुप्रिएको गेग्य्रान र ठूला चट्टान हटाएर सुरुङ मार्गको सफाइपछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउन लागिएको हो । मेलम्ची खोलाको पानी २७ किलोमिटर सुरुङमार्ग हुँदै दैनिक १७ करोड लिटर उपत्यकामा ल्याइने छ ।

प्रतिक्रिया दिनुहोस