aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

रासायनिक मल नआउदा चैते बाली प्रभावित

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, २७ चैत्र २०७८
रासायनिक मल नआउदा चैते बाली प्रभावित

काठमाडौं । सरकारी अनुदानको रासायनिक मल ल्याउने ठेक्का पाएका कम्पनीहरूले मल ल्याउन नसक्दा यसपालिको चैते बाली प्रभावित हुने देखिएको छ । कोरोना महामारीको प्रभाव र चीनको नयाँ निर्यात नीतिका कारण ठेक्का सम्झौताको म्याद सकिँदासम्म उनीहरूले मल आयात गर्न नसकेका हुन् ।

मल आयातका लागि चारओटा कम्पनीले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनसँग ठेक्का सम्झौता गरेका थिए । सिल्क मार्केट प्रालि, जेन ट्रेड, जेएस ट्रेड कम्पनी र इन्डियन पोटास लिमिटेडले कृषि सामग्री र साल्ट ट्रेडिङसँग मल ल्याउन सम्झौता गरेका थिए ।

उनीहरूले ठेक्का सम्झौताको म्याद सकिँदासम्म मल आयात गर्न सकेका छैनन् । कृषि सामग्री कम्पनीका सूचना अधिकारी अशोककुमार खड्का सम्झौता गरेका कम्पनीले मल ल्याउन सक्ने सम्भावना कम रहेको बताउँछन् । ‘यही अवस्था रहिरहे पछि पनि मल आउने सम्भावना न्यून छ,’ उनले भने, ‘त्यो भयो भने चैते धान र मकैलाई समस्या पर्न सक्छ ।’

ठेक्का लिएका कम्पनीले मल ल्याउन नसक्नुमा कोरोना महामारी र चीनको नयाँ निर्यात नीति भएको उनले बताए । खेतीपातीको सिजनमा रासायनिक मल नपाउने समस्या किसानले हरेक वर्ष झेल्दै आएका छन् । यस वर्ष पनि दोहोरिने संकेत देखिइसकेको छ ।

साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीका अनुसार इन्डियन पोटास लिमिटेडले २५ हजार मेट्रिक टन डीएपी र ७५ हजार टन युरिया आयातका लागि कर्पोरेशनसँग गत पुसमा ठेक्का सम्झौता गरेको थियो । यो भारतको सरकारी कम्पनी हो । 

प्रतिक्रिया दिनुहोस