aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

विदेशी विनिमय सञ्चिति बढाउने पहल

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २८ चैत्र २०७८
विदेशी विनिमय सञ्चिति बढाउने पहल

काठमाडौं । विदेशी विनिमय सञ्चिति बढाउन आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन एकसाथ पहल भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले पहल गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिए ।

आयात वृद्धिका कारण विदेशी विनिमय सञ्चितिमा परेको चापलाई ध्यानमा राखी सरकारले केही वस्तुको आयात रोक्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैङ्कलाई पत्र पठाएको थियो । आयात बढ्दा विदेशी विनिमय सञ्चिति कम भई त्यसले अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने भएकाले सरकार विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाब छ ।

हाल आएर विप्रेषणमा केही सुधार भएको छ । फागुनमा बढेको रेमिट्यान्स चैतमा ९१ अर्ब पुगेको छ । सरकारले अझै पनि रेमिट्यान्स बढाउन विभिन्न प्याकेज ल्याउन लागेको जानकारी अर्थमन्त्रीले दिनुभएको छ । त्यसमा विदेशबाट पैसा पठाउनेलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएको छ ।

आइतबार नै नेपाल बैङ्कर्स सङ्घले अत्यावश्यकबाहेकका विलासिताका वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैङ्कले नगद मार्जिन तोकेका ४७ समूहका वस्तुको एलसी तत्काललाई नखुलाउने र बैङ्क ब्याजदर पनि स्थिर राख्ने निर्णय सङ्घले गरेको हो ।

प्रतिक्रिया दिनुहोस