काठमाडौं । रुसले पश्चिमा सैन्य संगठन नेटोमा सामेल हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिएको छ । उनीहरु नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी रुसले दिएको हो ।
रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटो संगठन टकराव निम्त्याउने माध्यमका रूपमा रहेको आरोप लगाएका छन् । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि सैन्य आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने माग रुसको रहँदै आएको छ । तर युक्रेनमा रुस रणनीतिक रुपमा विफल भएको र त्यसले नेटोको बिस्तार हुन सक्ने अमेरिकी रक्षा मन्त्रालयले बताएको छ ।
यही परिवेशमा फिनल्याण्ड र स्वीडेनले पनि नेटोको सदस्य बन्ने सम्भावनाबारे छलफल थालेका छन् । रुसले भने त्यसलाई लिएर चेतावनी दिएको हो ।
आउँदो जुनको सुरुमा फिनल्याण्ड र स्वीडेनको नेटो सदस्यबारे छलफल हुने सम्भावना छ।
उनीहरुको सदस्यता स्वीकृत भएमा नेटोमा सामेल देशहरुको संख्या ३२ पुग्ने छ । गएको हप्ता यो विषयलाई लिएर नेटो नेताहरु र फिनल्याण्ड तथा स्वीडेनका विदेशमन्त्रीबीच छलफल भएको थियो ।
युक्रेनमा युद्ध थाल्नु अघिसम्म रुसले नेटो सदस्य संख्या बिस्तार गर्न नहुने माग गरेको थियो। तर रुसले युक्रेनमा गरेको आक्रमण र त्यसमा सर्वसाधारणलाई बनाइएको निशानाका कारण फिनल्याण्ड तथा स्वीडेनमा नेटोमा सामेल हुने पक्षमा जनमत बढ्दै गएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस