aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

अघिल्लो सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भयोः पूर्वप्रधानमन्त्री खनाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ चैत्र २०७८
अघिल्लो सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भयोः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत (समाजवादी)का नेता झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, “यसअघिका सरकारका कारण अहिले मुलुकमा आर्थिक समस्या देखापरेको छ । तर चरम आर्थिक सङ्कट भने आइसकेको छैन् ।”

पूर्वप्रधानमन्त्री खनालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचन सर्ने हल्लामा कुनै सत्यता नरहेको बताए । उनले वर्तमान स्थितिमा मुलुकलाई गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै केन्द्रदेखि स्थानीय स्तरमा गठबन्धन गरी निर्वाचनमा जाने  बताए । उनले मुलुकलाई सही दिशामा ल्याउन सत्ता गठबन्धन आवश्यक रहेको चर्चागर्दै आगामी निर्वाचनमा सत्तामा रहेका दलहरुबीच गठबन्धन गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।   

नेता खनालले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीयस्तरमा उच्च स्तरीय  गठबन्धन कमिटीले गठन गरेर मार्गदर्शन तयार गर्ने र सोही अनुसार जिल्ला र क्षेत्रमा स्थानीय तहमा गठबन्धनका विषयमा निर्णय गर्ने बताए । पूर्वप्रधानमन्त्री खनालले निर्वाचनका लागि बन्ने गठबन्धन र तालमेल एउटै भएको प्रस्ट पारे ।  उनले केन्द्रीय स्तरमा गठबन्धनबीच आपसी निर्णय गरी महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको घोषणा हुने भन्दै नेकपा एकीकृत समाजवादीले कति महानगरपालिकामा प्रमुख, उपप्रमुखको उम्मेदवार दिने सम्बन्धमा गठबन्धन दलबीच छलफलपछि निर्णय हुने जानकारी दिए ।   

प्रतिक्रिया दिनुहोस