_20220413111249.jpg)
काठमाडौं । सामान्यतया सम्पत्ति वा रकम एउटा मुलुकबाट अर्को मुलुकमा बाहिरिने प्रक्रियालाई पुँजी पलायन भन्ने बुझिन्छ । नेपालबाट पनि पुँजी पलायन भइरहेको सर्वत्र चर्चा भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले नै सार्वजनिक कार्यक्रममा बोल्दै नेपालबाट पुँजी पालयन भइरहेको भनेका थिए । क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेको उनले सुनाएका थिए ।
त्यति मात्र होइन शर्माले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायतका कारण नेपालबाट ‘क्यापिटल फ्लाईट’ भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएको समेत बताएका थिए । उनले नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फ्लाईट हुने प्रकृया देखा परेको भनेका थिए ।
नेपालबाट क्रिप्टोकरेन्सी लगायत क्षेत्रमा पूँजी पलायन भइरहेको योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री पनि बताउँछन् । उनी भन्छन्, ‘दुई चार पैसा भएका र बचत गर्न सक्नेहरुले क्रिप्टोकरेन्सीमा लगानी गर्यो भने नाफा हुने रहेछ भनेर उक्सिएर लुकिछिपी लगानी गरेका छन् भन्ने सुनिन्छ । नेपालीहरु त्यस्तो ठाउँमा आकर्षित भएर हामीले यसलाई मान्यता दिनु पर्छ भन्ने गरेका छन् । यसो हुँदा केहि मानिसहरु यसमा रमाइरहेका छन् है भन्न सकिन्छ । त्यसैले यस क्षेत्रमा पुँजी पलायन भएको छ ।’
नेपाली अर्थतन्त्रका अधिकांश परिसूचकहरु घटेका छन् । व्यापार घाटा हालसम्म कै उच्च छ । शोधानान्तर स्थिति उच्च घाटामा छ । मूल्य वृद्धि पनि ७ प्रतिशत भन्दा बढी नाघेको छ । रेमिट्यान्स आप्रवाह पनि १.७ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव उस्तै रहेको छ । रेमिट्यान्स मार्फत आउने पैसा विलासी वस्तु सुनचाँदी, ल्यापटप, महँगा मोबाइल लगायत मार्फत नेपाल भित्रिएको हुनेसक्ने पूर्व गभर्नर क्षेत्रीको भनाई छ ।
अर्थमन्त्री शर्माले पनि यसअघि एक कार्यक्रममा बोल्दै नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका थिए । पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा आफूले खोज्न थालेको बताउँदै अर्थमन्त्री शर्माले भनेका थिए, ‘पुँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु ।’ पूर्व गभर्नर क्षेत्री पनि बैंकिङ प्रणालीमा पैसा नआउनुमा चुनावमा खर्च गर्नका लागि राजनीतिक दलहरुले घरघरमा पैसा राखेको समेत आरोप लगाउँछन् ।
नेपालमा हाल देखिएको तरलतासम्बन्धी समस्याको प्रमुख कारणमध्ये एक पुँजी पलायन नै रहेको स्पष्ट बुझ्न सकिने अर्थविद्हरु बताउँछन् । त्यस्तै, नियमित रूपमा हुने आयातको मात्रा नेपालको निमित्त पुँजी पलायनको कारण बनेको देखिन्छ । नेपालीहरुले विलासीका वस्तुहरु खरिद गर्दा पूँजी बाहिने क्रम बढेको समेत अर्थ सचिव तथा अर्थविद् रामेश्वर खनालले बताए ।
अर्थविद् खनालले भने, ‘नेपालीको क्रयशक्ति कृत्रिमरुपमा बढाईएको छ । यसो हुनुमा बैंक तथा वित्तीय संस्थाहरुले सस्तो दरमा कर्जा दिएर हो । बैकहरुले सस्तो ब्याजदरमा ऋण दिएर घर घडेरीमा लगानी गर्नेदेखि शेयर, गाडी लगायत खरिद गर्न पाउनु पर्छ भन्ने खालको काम गरियो । यसले गर्दा पनि गाडी लगायत विलासीका वस्तु खरिद गर्न ठूलो विदेशी पुँजी गइरहेको छ ।’
त्यस्तै, नेपालमा आयातमूखि व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले विदेशमा नेपालीहरुले कमाएको पैसाको दुरुपयोग गर्न थालेकालाई नेपालमा रेमिट्यान्स कम आएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, ‘व्यापारीहरुले वैद्यानिक च्यानहरुबाट रकम पठाउँदा केहि महँगो पर्ने भएकोले विदेशमा रहेका नेपालीहरुको कमाई उनीहरुले खरिद गरेको समानको भुक्तानीका रुपमा प्रयोग गर्न अवैध च्यानलबाट पैसा पाइरहेका छन् । यसको मतलब नेपालमा रेमिट्यान्सको आँकडा नबढ्नुमा रेमिट्यान्सको ‘ब्ल्याक मार्केट’ हुण्डी मौलाउनु नै हो ।’
सरकारले पुँजीगत खर्च नबढाउनु मुख्य तरलता अभावको कारणकारुपमा देखिदै आएको छ । यसका साथै नेपालीहरुले विभिन्न माध्यमबाट ठूलो मात्रामा नेपाली पैसा विदेश पठाइरहेको पनि श्रेष्ठको दाबी छ । उनले भने, ‘राजनीतिकरुपमा अस्थिरता र व्यवसाय गर्ने व्यापारीहरुको सम्पत्तिको सुरक्षा माथी खतरा देखिदै गएपछि आफ्नो सम्पतिको सुरक्षा गर्न सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका पनि बुझिन्छ । अर्कोतर्फ राजनीतिककर्मीहरुले केहि हदसम्म तरलताको जोहो गरेर बसिरहेका पनि छन् ।’
नेपालमा लुकेको पैसा बाहिर निकाल्नका लागि सरकारी नीति नियमहरु लगानीमैत्री हुनपर्ने पहिलो आवश्यकता रहेको उनको भनाई छ । ‘सरकारले अहिले हल्ला गरे जस्तो नोटबन्दीको उपाय अपनायो भने नेपालबाट थप तरलता बाहिरिने खतरा छ’, उनले भने ।
यता, नेपालमा आउने रेमिट्यान्स डाइभर्ट भएको हो की भन्नेमा आशंका रहेको नेपाली मुद्रा विप्रेषक संघका कार्यसमिति सदस्य तथा वेष्टर्न युनियन (हुलास रेमिट)का प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिवाकर पौडेल बताउँछन् ।
उनी भन्छन्, ‘विदेशबाट नेपाल आउने व्यक्तिहरुले सुन, ल्यापटप, महगा फोन(आइफोन) लगायत महँगा अन्य समानहरु ल्याउने गरेका छन् । यसले गर्दा रेमिट्यान्समा आउनु पर्ने रकम यी समानहरु मार्फत नेपाल भित्रिएको छ । नेपालमा आउने रेमिट्यान्स विभिन्न सामानहरुमा डाइभर्ट भएको हुनसक्छ ।’
अर्थमन्त्री शर्माले सोमबार अर्थमन्त्रालयमा भएको एक कार्यक्रममा नेपालबाट दुवईमा पैसा लगेर ठूला ठूलो भिल्ला खरिद गरेको समेत बताए । उनले भने, ‘नेपालमा किन तरलताको अभाव भइरहेको छ । विदेशबाट रेमिट्यान्स किन नेपालमा आउन कम भइरहेको भन्ने खोज्न दुबईमा नेपालीले खरिद गरेको भिल्ला तिर भेटिन्छ ।’
नेपालका अधिकाश मारवाडी समूदायका भारतका विभिन्न शहरमा आफ्ना भिल्ला बनाएका छन् । भने केहि मारवाडी समूदायले भारतको शेयर बजारमा समेत लगानी गर्ने गरेको मारवाडी समूदायका एक सदस्यले बताए । उनले भने, ‘नेपालमा राजनीति वा सामाजिक रुपमा अलि अप्ठ्यारो पर्ने वित्तीकै भारतमा कनेन्सन हुने मारवाडी समूदाय लगायतले पैसा भारतमा लैजाने गरेका छन् ।’
धेरै मारवाडी समूदायका आधा परिवार वा व्यापार नेपाल र भारतमा बराबरी रुपमा रहेको उनले बताए । उनले भने, ‘नेपाल र भारतमा बराबरी कारोबार गर्ने नेपाली व्यापारीहरुले नेपालमा अलि राजनीतिक रुपमा तरल देख्ने वित्तिकै नेपालबाट ठूलो लगानी भारतमा जाने गरेको छन ।’
प्रतिक्रिया दिनुहोस