
काठमाडौं । आर्थिक वर्ष २०७५र७६ मा कृषिजन्य वस्तुको उत्पादन वृद्धि भएको छ । अनुकूल मौसम, कृषिमा यान्त्रिकीकरण, मल, बीउ आदिको उचित व्यवस्थापन हुँदा गत वर्ष कृषिजन्य वस्तुको उत्पादन वृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालय सचिव डा. युवकध्वज जीसीले गत वर्ष कृषिजन्य वस्तुको उत्पादन वृद्धि भए पनि यी वस्तु ठूलो परिमाणमा आयात गर्नुपर्ने बाध्यता कायमै रहेको बताए ।
खाद्यान्न, तरकारी, तेलहन र उखु बाली तथा माछामासु र अण्डालगायत समग्र कृषि क्षेत्रको उत्पादन वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको आव २०७५/७६ को प्रगति प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालयका अनुसार आव २०७५/७६ मा ५५ लाख ६१ जार मेट्रिक टन धान उत्पादनको लक्ष्य लिएकोमा सो अवधिमा ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भएको थियो ।
यो लक्ष्यको तुलनामा ८.८९ प्रतिशतले वृद्धि हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट २६ वटा बालीमा ६९ वटा बाली जोन र १४ वटा सुपरजोन कार्यक्रम सञ्चालन तथा प्रदेशअन्र्तगत ३३६ वटा ब्लक र २ हजार ७७६ पकेट क्षेत्र सञ्चालन भएकाले धानको उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
समयमै मनसुन, रासायनिक मल तथा उन्नत बीउको सहज उपलब्धता, कृषिमा उन्नत प्रविधिको पहुँच बढाउँदा धान उत्पादन बढेको प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालयका अनुसार गत आवमा ४० लाख मेट्रिक टन तरकारी उत्पादन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा ४१ लाख ७५ हजार मेट्रिक टन उत्पादन भई लक्ष्यको तुलनामा १७६ हजार मेट्रिक टन वृद्धि भएको छ । लक्ष्यको तुलनामा यो १.८६ प्रतिशत वृद्धि हो ।
त्यस्तै, तेलहन बालीमा २ लाख ३६ हजार मेट्रिक टन उत्पादनको लक्ष्य लिएकोमा सो अवधिमा २ लाख ५३ हजार मेट्रिक टन उत्पादन भएकोे छ । ३४ लाख मेट्रिक टन उखु उत्पादनको लक्ष्य लिएकोमा गत वर्ष ३९ लाख ५० हजार मेट्रिकटन उत्पादन भएको छ । यो लक्ष्यको तुलनामा ५५० हजार मेट्रिक टन उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, गत आर्थिक वर्षमा गहुँको उत्पादनमा कमी आएको छ । २२ लाख १९ हजार मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा २० लाख ३७ हजार मेट्रिक टन मात्रै उत्पादन हुन सकेको मन्त्रालयले जनाएको छ । त्यस्तै, गत वर्ष मकैको उत्पादनमा पनि कमी आएको छ ।
२६ लाख ९६ हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य लिएकोमा २६ लाख ४४ हजार मेट्रिक टन मात्र मकै उत्पादन भएको छ । यो लक्ष्यको तुलनामा ५२ हजार मेट्रिक टन कम हो ।
यसैगरी, लक्ष्यको तुलनामा गत वर्ष आलुको उत्पादन ३० हजार मेट्रिक टन र फलफूलको उत्पादन ३ लाख २७ हजार मेट्रिक टन उत्पादन कम भएको हो । ३२ लाख ५० हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा ३२ लाख २० हजार मेट्रिक टन आलुको उत्पादन भएको छ । त्यस्तै, १४ लाख ८० हजार मेट्रिक टन फलफूलको उत्पादन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा ११ लाख ५३ हजार मेट्रिक टन मात्र उत्पादन भएको मन्त्रालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस