
काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीको नाममा ठगी बढ्न थालेपछि सरकारले शैक्षिक परामर्श संस्था र मेनपावर विरुद्धको कारवाइलाई कडाई गर्ने भएको छ । शैक्षिक परामर्शको नाममा वैदेशिक रोजगारको काम गरिरहेको जनाउँदै एकै संस्थाविरुद्ध करोडौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि कारवाई तीव्र बनाइने भएको हो ।
यसैगरी मेनपावर कम्पनीले विभिन्न नक्कली एजेन्ट खडा गरेर श्रमिकसँग चर्को सेवा शुल्क असुल्ने तथा लामो समयसम्म युवालाई विदेश नपठाई ठगी गरेको अभियोगमा उजुरी बढ्न थालेपछि कारवाही अघि बढाइएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले ठगीका धेरै उजुरी सम्बोधन नभएको जनाउँदै विभागका सबै कर्मचारीलाई अनुसन्धान गर्ने अधिकार दिने र विभागमा रहेका ७ जनाको प्रहरी टोलीलाई समेत सक्रिय बनाउने बताए ।
पछिल्लो समय कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आएपनि यसको नाम हुने ठगी भने बढेको विभागको भनाइ छ । विभागका महानिर्देशक पौडेलले वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसार कारवाई गर्ने गरी अभियान सुरु गरेको जानकारी दिए । यसअघि पनि विभागले ठगीविरुद्ध कारवाही गर्दै आएपनि मेनपावरलाई साधारण कारवाही गरी छोड्ने गरिएको थियो । ऐनको दफा ४४ अनुसार कुनै इजाजतवालाले विभागबाट स्वीकृति नलिई कामदार विदेश पठाएमा वा कुनै इजाजतपत्रवालाले कसैलाई वैदेशिक रोजगारमा लगाइदिने भनी झुटो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिई विदेश नपठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम भराई त्यस्तो इजाजतवालालाई ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ देखी ७ वर्षसम्म कैद हुने भन्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस