
बाँकेका कोहलपुर र वैजनाथवासीले भूकम्प जान लागेको सूचना पाउने भएका छन्। भूकम्पको पूर्वसूचना दिने सेन्सर मुलुकमै पहिलो पटक दुवै स्थानीय तहका ६र६ स्थानमा जडान गरिएको छ ।
‘सेन्सरले भूकम्प आउनुभन्दा ५० सेकेन्डअगावै जानकारी दिन्छ’, ताइवानको नेसनल साइन्स एन्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसीडीआर) का महासचिव डब्लू लीले भने, ‘यस्तो जानकारी भूकम्पको इपिसेन्टरको दूरीमा निर्भर हुन्छ ।
इपिसेन्टरमै रहेको सेन्सरले भने भूकम्पबारे पूर्वजानकारी दिन सक्दैन । यो सूचनाका आधारमा व्यक्तिले सावधानी अपनाउन सक्छ ।’
भूकम्प आउनुभन्दा पहिले इपिसेन्टरको दूरीका आधारमा २० देखि ५० सेकेन्डको बीचमा सेन्सरले जानकारी दिँदै साइरन बजाउने कोहलपुर नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन अग्नि आचार्यले बताए ।
‘३ रेक्टर स्केलभन्दा माथिको भूकम्पका बेला मात्र साइरन बज्नेछ’, फोकल पर्सन आचार्यले भने, ‘हामी घना बस्ती भएका स्थानमा साइरन फिट गर्दै छौं । सर्वसाधारणले मोबाइल एपमार्फत पनि भूकम्पको सूचना पाउनेछन् ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस