
लमजुङ । दुई दशकअघिसम्म विकासका पूर्वाधार नपुगेको घलेगाउँमा यतिबेला भने आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत् र सडक पुगेको छ । पर्यटक बोलाउने, घरमै खाना खुवाउने, संस्कृति देखाउने, हिमाल हेराउने परिकल्पनासाथ सुरु भएको ग्रामीण पर्यटनले घलेगाउँवासीलाई अहिले सुखी बनाएको छ ।
गाउँले आफैंले यसका सूचक बनाएका छन् । त्यही सूचकलाई पछ्याउँदै सबै कार्यान्वयन चरणमा पुगेपछि घलेगाउँ सुखी गाउँ बनेको हो । घलेगाउँलाई नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ‘सुखी गाउँ’ घोषणा गरे ।
गाउँ सम्झेर भारतीय सेनाबाट फर्केका प्रेमबहादुर घलेको नेतृत्वमा गाउँलेको झन्डै २ दशकको संघर्षपछि घलेगाउँ सुखी गाउँमा परिणत भएको हो । यसमा उनलाई स्याङ्जाको सिरुवारीले गुरुमन्त्र बन्यो । ‘हामीकहाँ पाहुनालाई सित्तैमा खुवाउने, बास दिने चलन । पैसा लिनुपर्छ भन्ने कुरा सिरुबारीबाट सिकें,’ उनले भने, ‘अथक प्रयासपछि सार्क भिलेज, स्मार्ट भिलेज हुँदै अहिले सुखी गाउँसम्म आइपुगेका छौं ।’ उनका अनुसार ५ पैसाको मुख देख्न नपाउनेले अहिले दैनिक हजारौं कमाएका छन् ।
घलेगाउँवासीले २०५७ बैशाख २३ मा प्रथम महोत्सव गरी १२ घर होमस्टे स्थापना गरे । प्रचारप्रसार गर्न २०५८ चैतमा घलेगाउँ महोत्सव गरे । अन्तरिम सरकारमा पृथ्वीसुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०६४ फागुनमा घलेगाउँ दक्षिण एसियाको नमुना गाउँ ९सार्क भिलेज० घोषणा भयो । घलेगाउँ २०७० मा पनि सार्क भिलेज बन्न सफल भयो ।
सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतको आधारभूत सुविधा पुगेपछि घलेगाउँलाई २०७६ मंसिर १७ मा स्मार्ट भिलेजको सुरुवात भएको घोषणा गरियो । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेका रूपमा पुरस्कृत गर्यो । सुखीगाउँको आधारभूत मापदण्ड पूरा भएपछि घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको घलेले बताए ।
क्व्होलासोंथर गाउँपालिका–३ घलेगाउँमा १ सय ३० घर छन् । अमेरिका, बेलायत गएका समेत फर्किएर होमस्टे सञ्चालन गर्न थालेका छन् । विक समुदायले सञ्चालन गरेको २ घरसहित घलेगाउँमा ४२ घरमा होमस्टे छ । घलेगाउँमा यो अवधिमा सवा २ लाख बढी पर्यटकले बास बसेका छन् ।
करिब ८ सय वर्ष पुरानो मानिएको घलेगाउँलाई गुरुङ भाषामा ‘कोइम्ली’ भनिन्छ । घलेराजाले शासन गरेको र घले जातिको बाहुल्य भएकाले यो गाउँको नाम अहिले अहिले घलेगाउँ रहन गएको वृद्ध लीलाबहादुर घले बताउँछन् । घलेगाउँमा गुरुङ जातिका अन्तिम घलेराजा ‘क्याल्बोरोजा क्ले’ को शालिक निर्माण गरिएको छ । गुरुङ जातिको कर्मकाण्डीय वेद तथा शास्त्र सिक्ने र सिकाउने पाठाशाला ‘क्होइँबो’ निर्माण गरिएको छ ।
गोर्खा पार्क, भ्युटावर, स्वर्गभूमि रंगाशाला, बास्केटबल खेलमैदान, उत्तर कन्यामन्दिर, चियाबारीलगायत फराकिलो ठाउँले पर्यटकलाई आकर्षित गरेको छ । परम्परागत गुरुङ सस्कृतिहरू घाँटु, सोरठी, सेर्गालगायत नाच गाउँका प्रमुख सांस्कृतिक विशेषता हुन् । पाहुनालाई स्वागत गर्न गाइने र नाचिने ‘यालमी’ मौलिकता बोकेको प्राचीन गीत हो । ‘परम्परागत गुरुङ संग्रहालय’ पनि छ । सदरमुकाम बेंसीसहरबाट २४ किलोमिटरको दूरीमा रहेको घलेगाउँ अहिले सवारी साधनमार्फत डेढ घण्टामै पुगिन्छ ।
ओलीले भने, ‘घलेगाउँवासीले अरूका लागि अनुसरणीय काम गरेकोमा म धन्यवाद र बधाई भन्न चाहन्छु ।’ उनले लामो समयदेखि घलेगाउँ आउने इच्छा पूरा भएको बताए । तर, पूर्ण नभएको उनको भनाइ थियो । ‘हिँडेर आउादा गाह्रो हुने भो । दौडेर आउँदा झन् साह्रै हुने भो । त्यसैले उडेरै आएको । उडेरै आउँदा भ्याइनभ्याइ छ,’ गाउँकै विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा उनले भने, ‘आचारसंहिता लागिसकेको हुनाले अहिले केही बोल्न मिलेन । निर्वाचनपछि यो विद्यालयलाई आधुनिकीकरणका लागि सहयोग गर्नेछु ।’
प्रतिक्रिया दिनुहोस