
काठमाडौं । अत्यावश्यक वस्तुबाहेकको प्रतीतपत्र (एलसी) नखोल्ने नेपाल बैंकर एसोसिएसनको निर्णयले केराको भाउ अचाक्ली बढेको छ । घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र जोखिममा परेपछि सवारीसाधनलगायत विलासिताका वस्तु आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकको मौखिक निर्देशन बैंकहरूले कार्यान्वयन गर्दा केरा आयातसमेत रोकिएको छ ।
केरा विलासिताको वस्तु नभए पनि आयात गर्दा शतप्रतिशत एलसी खोल्नुपर्ने नियमले यसको आयातमा अवरोध भएको हो । आपूर्तिमै अवरोध हुँदा बजार भाउ अचाक्ली बढेको छ । एक दर्जन केराको होलसेल मूल्य नै १५० देखि १६५ रुपैयाँ पुगेको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ । खुद्रा मूल्य दर्जनकै २ सय रुपैयाँसम्म पुगेको संघका अध्यक्ष अमर बानियाँले बताए । केराबाहेक अन्य फलफूलको एलसी भने बन्द छैन । विगतमा एलसी खोलिसकेका व्यवसायीले मात्रै अहिले केरा आयात गरिरहेका छन् ।
ढुवानी भाडामा भएको मूल्यवृद्धि र भन्सार एजेन्टको चलखेलले बजारमा थप मूल्यवृद्धि भएको बानियाँले बताए । ‘भन्सार छुटाउँदा एक लाख रुपैयाँ पर्नेमा २ लाख रुपैयाँ लिएका छन्,’ उनले भने, ‘स्वदेशमै पर्याप्त उत्पादन नहुँदा बजारमा मूल्य बढेको हो ।’ मुलुकभर १६ हजार ६ सय ९९ हेक्टरमा केरा खेती हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । वार्षिक २ लाख ५४ हजार १ सय ६१ टन केरा उत्पादन हुन्छ । तर उक्त परिमाणले ३र४ महिना पनि धान्दैन । त्यसबाहेकका महिनामा आयातमै भर पर्नुपर्ने अवस्था रहेको संघले जनाएको छ ।
गत आर्थिक वर्षमा १ अर्ब ७१ करोड रुपैयाँको केरा आयात भएको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामै १ अर्ब १६ करोड रुपैयाँको आयात भएको छ । केराको मूल्यसँगै एक महिनाको अवधिमा अन्य फलफूलको मूल्य पनि बढेको छ । यस अवधिमा अंगुरको मूल्य ३० प्रतिशत बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । चैत ४ मा प्रतिकिलो ९होलसेल मूल्य० ११० रुपैयाँ पर्ने अंगुरको मूल्य बढेर १४५ रुपैयाँ पुगेको छ । १७५ पर्ने जुनार २१० रुपैयाँ र १५० पर्ने सुन्तला १५५ रुपैयाँ पुगेको समितिले जनाएको छ ।
‘स्याउको मूल्य कार्टुनमा १र२ सय रुपैयाँ बढेको छ,’ कालीमाटीस्थित बी एन्ड एन फलफूल तथा तरकारी सप्लायर्सका सञ्चालक भरत खनालले भने, ‘केही वस्तुको मूल्य भारतमै महँगो हुँदा यहाँ पनि बढ्यो ।’ मुलुकभर ७५ हजार ३ सय ६८ हेक्टरमा फलफूल खेती हुने गरेको कृषि मन्त्रालयको तथ्यांक छ । उक्त क्षेत्रफलमा ८ लाख ५८ हजार ८ सय २२ टन उत्पादन हुन्छ । तर मागअनुसार नपुग्ने भएपछि आयातमै निर्भर हुनुपरेको व्यवसायीहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस