
काठमाडौं । पर्यटनबाट समृद्ध हुने आशा गरेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले विदेशीहरूका लागि बिनासंकोच यस्तो सूचना जारी गरेको छ– ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक मात्र एटीएम मेसिन भएको तथा त्यसमा पनि विभिन्न प्राविधिक कठिनाइ भएकाले भिसा, मास्टरकार्डलगायत विद्युतीय माध्यमबाट भिसा शुल्क भुक्तान गर्न चाहने पर्यटकहरूले हैरानी बेहोर्नुपर्ने अवस्था छ ।
अध्यागमनमा भीड लाग्ने, पर्यटकहरू लामो लाइनमा लाग्नुपर्ने र भिसा शुल्क नगदमा बुझाउन नसक्दा पर्यटकले प्रवेशाज्ञासमेत नपाउने अवस्था आउन सक्छ । त्यसैले, विद्युतीय कारोबारको यो झन्झटबाट मुक्ति पाउन सबै पर्यटकलाई कम्तीमा दुई सय डलर बराबरको नेपालमा विनिमय हुने मुद्रा लिएर आउन नेपाल अध्यागमन आग्रह गर्दछ ।’
अध्यागमन विभागको सर्भर डाउन भएपछि शनिबार अन्तर्राष्ट्रिय उडान नै प्रभावित भए । नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु अध्यागमन कक्षमा घण्टौं उभिनुपरेको थियो ।
अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीका अनुसार एक सातायता सर्भरमा निरन्तर समस्या छ । ‘तीन वर्षअघि स्थापना गरिएको सर्भरले अहिले चाप थेग्न सकिरहेको छैन,’ शाहीले भने, ‘सर्भर अध्यागमन विभाग कालिकास्थानमा राखिएको छ । १० दिनयता पासपोर्ट स्क्यानिङमा ढिलाइ भइरहेको छ ।’ उनका अनुसार सामान्य अवस्थामा एक जना यात्रुलाई बढीमा तीन मिनेटमा क्लियर गरिन्थ्यो तर अहिले ६ मिनेटसम्म लागिरहेको छ । त्यसले यात्रुको अथाह भीड बढाएको छ । तीन वर्षअघि विभागले करिब ८ करोड रुपैयाँ खर्च गरेर डेटा सेन्टरसहितको नयाँ पूर्वाधार सञ्चालनमा ल्याएको थियो ।
गत फागुन ९ को राति अन्तर्राष्ट्रिय गन्तव्यमा उड्नै लागेको नेपाल वायु सेवा निगमको जहाजमा अचानक एक व्यक्ति पुगेका थिए जसको साथमा न भिसा थियो न पासपोर्ट । अनधिकृत व्यक्ति विमानसम्मै पुगेपछि खैलाबैला मच्चियो । सीसीटीभी फुटेज अध्ययन गर्दा ती युवा कोटेश्वररजडीबुटीतर्फको काँडेतार पार गरेर छिरेको पत्ता लाग्यो जब कि विमानस्थलको तारबारमा २४ सै घण्टा सैनिकले पहरा दिन्छन् । छानबिन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको नेतृत्वमा ९ सदस्यीय समिति बनेको थियो । तर नर्सरीको तारबार अहिलेसम्म उस्तै छ ।
प्रतिक्रिया दिनुहोस