aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पाँच महिनामा भक्तपुर–नगरकोट सडक निर्माण सम्पन्न होला त ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
पाँच महिनामा भक्तपुर–नगरकोट सडक निर्माण सम्पन्न होला त ?

भक्तपुर । राजधानी आउने अधिकांश पर्यटकको गन्तव्य भक्तपुरको नगरकोट हुने गर्छ । नगरकोटबाट देखिने हिमशृङ्खलाको स्वाद बेग्लै हुन्छ तर आकर्षक पर्यटकीय नगरी पुग्ने सडक भने वर्षौंदेखि उबडखाबड र खाल्डाखुल्डीले भरिएको छ । 
सर्वसाधारणदेखि रमाउन र खुसी मनाउन आउने पर्यटकले सडककै कारण सास्ती भोग्नु परेको छ । यो अवस्था आउनुको मुख्य कारण हो–सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको चरम् लापरबाही । भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माण कार्यको जिम्मा पाएको नेपाली निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र भारतीय निर्माण कम्पनी आरावली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) जेभी हुन् ।
आधा काम गर्नुपर्ने सर्त भए पनि भारतीय कम्पनी अझै कार्यक्षेत्रमा देखिएको छैन । सडक निर्माणमा ढिलाइ भएपछि नेपालले उच्च महìवका साथ मनाउन लागेको ‘पर्यटन वर्ष २०२०’लाई समेत असर पर्ने देखिन्छ । अलपत्र सडक निर्माणका लागि चाँगुनारायण नगरपालिका, संसद्को विकास समिति र स्थानीयवासीको चर्को दबाबमा सडक निर्माणका लागि पटक–पटक गरी तीन वर्ष समय थप भएको छ । 
त्यति मात्र होइन, लागतसमेत चार करोड ३५ लाख रुपियाँले वृद्धि भएको छ । विसं २०७१ असार २ गते निर्माण सम्झौता भएको थियो । कुल निर्माण लागत ३१ करोड ५२ लाख रुपियाँमा सम्झौता भए पनि लागत चार करोड ३५ लाख थपिएको छ । कम्पनीले २०७३ असार ४ गते नै सडक निर्माण सम्पन्न गर्नुपर्ने थियो तर अहिलेसम्म सडक नबन्दा यात्रुले हैरानी भोग्नु परेको छ । अहिले कुल निर्माण लागत ३५ करोड ८७ लाख रुपियाँ पुगेको छ ।

सडकको निर्माण कार्य आगामी मङ्सिर १५ गतेभित्र सम्पन्न गर्ने दाबी भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाका प्रमुख जगत प्रजापतिको छ । उक्त सडक योजनाअन्तर्गत भक्तपुर–नगरकोट सडक निर्माण हुन लागेको हो ।

उहाँले भन्नुभयो, “यस वर्षको नोभेम्बरसम्म जसरी पनि यो सडकको निर्माण कार्य सम्पन्न भइसक्नुपर्छ, सन् २०२० छुन दिनु हुन्न । सरकारले २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने नीति लिएकाले पर्यटन वर्षलाई सफल बनाउन प्रमुख पर्यटक गन्तव्यका रूपमा रहेको नगरकोट पुग्ने सो बाटोको निर्माणमा अब ढिलाइ हुन सक्दैन, समयमा नै सक्नुपर्छ । ”

निर्माण कम्पनीले ३० मार्च २०२० सम्मको समय माग गरेकोमा २०१९ को नोभेम्बरसम्मको समय दिन सक्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले २०२० देखि पर्यटन वर्ष सुरु हुने भएकाले पनि यस वर्षको नोभेम्बरसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने स्पष्ट पार्नुभयो । निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीले मेसिन र जनशक्ति थप्ने लिखित प्रतिबद्धतासमेत गरेको छ ।

कुल लम्बाइ १५.६६ किलोमिटर रहेको सो सडकको ३.३३ किलोमिटर कालोपत्रे कार्य सम्पन्न भइसकेको बताउँदै उहाँले भन्नुभयो, “निर्माण कम्पनीको इच्छाशक्ति भएमा बाँकी रहेको १२ किलोमिटर सडक निर्माण गर्न नोभेम्बरसम्मको समय प्रशस्त छ । नोभेम्बर आउन अझै पाँच महिना बाँकी छ । अहिलेसम्म सडकको भौतिक प्रगति ६५ र वित्तीय प्रगति ४२ प्रतिशत मात्रै छ ।
योजना प्रमुख प्रजापतिले सडकमा टेवा पर्खाल, नाली र कलभर्ट निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । 
कालोपत्रेबाहेकका आवश्यक सबै काम सम्पन्न भइसकेको भनाइ प्रजापतिको छ । सडक क्षेत्रमा परेका रूखहरूको कटान तथा जग्गाको मुआब्जा वितरण कार्यसमेत सम्पन्न भइसकेको छ ।
पहिला ‘सिङ्गल लेन’ रहेको यो सडक अहिले ‘डबल लेन’मा विस्तार भइरहेको योजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो । चौडाइ आठ मिटरको हुनेछ, जसमध्ये सात मिटर कालोपत्रे गरिनेछ । आयोजना प्रमुख प्रजापतिले भन्नुभयो, “यो सडकलाई डबल कालोपत्रे ९डबल बिटिमिनस सर्फेस ड्रेसिङ, डीबीएसडी० गरिन्छ । यो प्रविधिमा पहिला अलकत्रा छरिन्छ, त्यसपछि एकै साइजको गिट्टी छरिन्छ र रोलिङ गरेर बराबर गरिन्छ । ” 
प्रमुख प्रजापतिका अनुसार केही समयपछि फेरि अलकत्रा छरिन्छ, त्यसपछि एकै आकारको गिट्टी छरिन्छ र रोलिङ गरेर बराबर गरिने यो प्रविधिअन्तर्गत दुई तहमा कालोपत्रे गर्ने गरिनेछ ।
दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने यो सडकको अहिलेसम्म तीनपटक म्याद थप भइसकेको छ । यो सडक निर्माणका लागि पहिलो म्याद थप २० अक्टोबर २०१६ सम्म, दोस्रो म्याद थप ४ नोभेम्बर २०१७ सम्म र तेस्रो म्याद थप १३ जुन २०१८ सम्म गरिएको थियो । 
निर्माण कम्पनीले फेरि २० मार्च, २०२० सम्मका लागि म्याद थप्न प्रस्ताव गरे पनि यस वर्षको नोभेम्बरसम्म कुनै पनि हालतमा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने निर्देशन सडक योजनाले दिइसकेको छ । निर्माण कम्पनीले अहिलेसम्म १४ करोड रुपियाँ भुक्तानी पाइसकेको र आठ करोड रुपियाँ भुक्तानी रोकिएको जानकारी योजना प्रमुख प्रजापतिले दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस