aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पुराना गाडीलाई विद्युतीय बनाउन सम्भव छ ? यसो भन्छन् विज्ञ

  • रिता राउत
    रिता राउत
  • विहीबार, ०८ बैशाख २०७९
पुराना गाडीलाई विद्युतीय बनाउन सम्भव छ ? यसो भन्छन् विज्ञ

काठमाडौं । नेपालमा पछिल्लो समय अटो व्यवसायीले पुरानो इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गरेका धेरै उदाहरणहरु छन् । इञ्जिन खराबीका कारण अलपत्र परेका पुराना सवारी साधनलाई फेरि प्रयोगमा ल्याउन केही कम्पनीहरुले पेट्रोल तथा डिजल गाडीलाई विद्युतीयमा रुपान्तरण गरिरहेका छन् । 

इन्धनबाट चल्ने सवारीमा भएको इन्जिन र फ्युल ट्यांकलाई पूरै निकालेर त्यसको ठाउँमा ब्याट्री र मोटर राखेर विद्युतीयमा रुपान्तरण गर्ने गरेका छन् । रुपान्तरण गरिएको सवारीमा इञ्जिनबाहेक अरु मेकानिकल पार्ट्सहरु यथावत राखिन्छ । इन्जिन भएको ठाउँमा मोटरराखेर कन्ट्रोलर थप्नु पर्छ ।

सिंहदरबारभित्र विभिन्न मन्त्रालयको पार्किङमा पुराना गाडीले भरिएको देख्न सकिन्छ । ती पुराना गाडीलाई विद्युतीय सावरीमा रुपान्तरण गरेर प्रयोगमा ल्याउन सकिने विद्युत नियम आयोगका पूर्व सञ्चालक समिति सदस्य तथा उर्जाविद् डा. रामप्रसाद धिताल बताउँछन् । उनी भन्छन्, ‘सरकारले २० वर्ष पुरानो गाडी नचलाउने भनेर राखेको छ । ती गाडीहरुलाई विद्युतीयमा रुपान्तरण गरेर चलाउन सकिन्छ । पुराना गाडीको च्याचिस नम्बर ब्यूँताएर विद्युतीय गाडीमा रुपान्तरण गरेर चलाउन सम्भव छ । यसका लागि उद्योगी र अनुसन्धानकर्ताहरुको अध्ययन र अनुसन्धान हुनु जरुरी रहेको छ ।’

उनका अनुसार विकसित देशहरुमा पुराना गाडीहरुको च्याचिस परिवर्तन गर्ने गरेको थुप्रै उदाहरणहरु रहेका छन् । तर, नेपालमा यो हुन सकेको छैन । नेपालमा पनि यसो गर्न सम्भव छ । यसका लागि सरकारले कोहि च्याचिस परिवर्तन गरेर विद्युतिय सवारी बनाएर चालाउन चाहान्छु भन्यो भने उसलाई विभिन्न कुराहरुमा छुट दिनु पर्छ । यस काम गर्नका लागि केहि अनुसन्धानहरु अपुग भएको देखिन्छ यसमा सरकारले ध्यान दिन जरुरी छ । 

सरकारी निकायमा भएका पुराना गाडीलाई नयाँ बनाएर चलाउन सम्भव रहेको एक इन्जिनियर पनि स्विकार्छन् । उनी भन्छन्, ‘नेपालमा सरकारी निकायमा भएका पुराना गाडीलाई विद्युतियमा रुपान्तरण गरेर चलाउन सकिन्छ । त्यसो गर्न सकेको खण्डमा सरकारी निकायमा भएका गाडीहरुको सदुपयोग हुन्छ । जसका लागि उक्त गाडीमा भएको सबै इन्जिन हटाएर पुरै विद्युतिय बनाउन सकिन्छ । अहिले बजारमा पाउने गाडीभन्दा यो गाडी सस्तो पर्न जान्छ ।’ 

तर, पुराना गाडीलाई रुपान्तरण गरि विद्युतीय बनाउनु यो असम्भव जस्तै रहेको नाडाका उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका सिईओ राजनबाबु श्रेष्ठको तर्क छ । उनी भन्छन्, ‘पुराना गाडीलाई रुपान्तरण गरि विद्युतीय बनाउनु यो असम्भव जस्तै हो । पुराना गाडीलाई नयाँ बनाउँदा सबैभन्दा ठूलो चुनौति भनेको यात्रुको सुरक्षाको हुन्छ । सुरक्षाको दृष्टिले पुराना गाडीलाई नयाँ रुपान्तरण गर्दा जोखिमपूर्ण हुन्छ ।’ 

त्यस्तै, उनले पुराना गाडीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्दा लाग्ने खर्च नयाँ विद्युतीय गाडी किन्नु बराबरी नै पर्न जाने बताए । उनले भने, ‘पुराना गाडीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्दा लाग्ने खर्च नयाँ विद्युतीय गाडी किन्नु बराबरी नै हुन्छ । विद्युतीय गाडीको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ब्याट्री र मोटर हो । विद्युतीय गाडीको मूल्यमा यी दुई पार्टको मूल्य करिब ८० प्रतिशत हुन आउँछ ।’

उनका अनुसार विद्युतीय गाडीमा लाग्ने ब्याट्रीको मूल्य करिब ६५ प्रतिशत र मोटरको मूल्य १५ प्रतिशत हुन जान्छ । यसले गर्दा पुराना गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्दा यी दुई पार्ट अनिवार्यरुपमा नयाँ हाल्नै पर्छ । त्यसैले पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नु भनेको खर्च बढाउनु हो । 

प्रतिक्रिया दिनुहोस