
काठमाडौं । मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यकाको चक्रपथभित्रको क्षेत्रमा एक हजार किलोमिटर पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन एकाइ (पीआईडी)का निर्देशक राजेन्द्र सापकोटाले काठमाडौंको चक्रपथभित्रको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न एक हजार १० किलोमिटर पाइपलाइन बिच्छयाइएको जानकारी दिए ।
उनका अनुसार बिच्छ्याइएका पाइपमध्ये अहिलेसम्म ४१० किलोमिटरको परीक्षण भइसकेको छ । परीक्षण गरिएका पाइपबाट मेलम्चीको पानी आउनेबित्तिकै वितरण गर्न सकिनेछ । उनले भने, “पाइप परीक्षणका लागि प्रशस्त मात्रामा पानी चाहिन्छ । ट्याङ्करको पानीले पुग्दैन । मेलम्चीको पानी आएपछि बाँकी रहेका पाइपको परीक्षण गरिनेछ ।”
त्यसैगरी थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमि सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको जानकारी उनले दिए । उनका अनुसार याङ्री र लार्के खोलाको पानी वितरण प्रणालीमा जडान भएपछि चक्रपथबाहिरको क्षेत्रमा पाइपलाइन विस्तार गरिने योजना छ ।
सुन्दरीजलमा आएको मेलम्चीको पानी भण्डारण गरी वितरण गरिनेछ । उपत्यकामा १० वटा ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार भक्तपुरको कटुन्जे र तिग्नी, काठमाडौँको आरुबारी, महाँकाल चौर, बाँसबारी, कीर्तिपुर, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण सकिएका छन् ।
प्रतिक्रिया दिनुहोस