aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

स्मार्टकार्ड किन्न एक अर्ब खर्चियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
स्मार्टकार्ड किन्न एक अर्ब खर्चियो

काठमाडौं । डिजिटल भुक्तानी तथा ‘क्याशलेस’ प्रविधिले व्यापकता पाउँदै जाँदा देशमा स्मार्टकार्डको आयात तीव्र गतिमा बढ्दै गएको छ । विगत दुई वर्ष आव २०७४/७५ र २०७५/७६ मा मात्र झन्डै एक अर्ब रुपैयाँको स्मार्टकार्ड नेपाल भित्रिएको छ ।

आव २०७५/७६ मा रू. ३८ करोडको र २०७४/७५ मा त्यसभन्दा २३ करोड बढी रू. ६१ करोड १४ लाखको स्मार्टकार्ड आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसभन्दा अगाडिकोे स्मार्टकार्ड आयातको तथ्यांक विभागले राखेको छैन ।

नेपालमा एक दर्जनभन्दा बढी मुलुकबाट भित्रिने स्मार्टकार्डको प्रयोग लाइसेन्स, आईडीकार्ड, हस्पिटल, बैंकलगायत निजी कम्पनीका सुरक्षात्मक कार्यमा र व्यक्तिको गोप्य डेटा राख्न पनि हुने गरेको विभागले बताएको छ ।

राष्ट्रिय परिचयपत्र लगायत सरकारले वितरण गर्ने अन्य परिचयपत्र पनि स्मार्टकार्डको रूपमा वितरण हुन थालेका छन् । स्कुल, कलेज, होटल तथा क्लबहरूमा समेत स्मार्टकार्ड प्रयोगमा आउन थालिसकेको छ ।


सबैभन्दा बढी स्मार्टकार्ड चीनबाट आयात हुने गरेको छ । आव २०७४/७५ मा चीनबाट मात्र रू. ३६ करोड बराबरको एक करोड दुई लाख कार्ड आयात भएको थियो । त्यसपछि भारत, थाइल्यान्ड सिंगापुर, दुबई (युएई), न्यूजिल्यान्ड, फ्रान्स, डेनमार्क, हङकङ, इटाली, जापान, मलेशिया, मेक्सिको र नेदरल्यान्डबाट स्मार्टकार्ड आयात हुने गरेको भन्सार विभागले बताएको छ ।

नेपालमा हाल स्मार्टकार्ड उत्पादन गर्ने कुनै कम्पनी छैन । नेपालमा स्मार्ट लाइसेन्स र डेबिट क्रेडिट लगायतका भुक्तानी गर्न मिल्ने कार्ड मात्र छापिँदै आएको छ ।
यातायात विभागका महानिर्देशक कुमार ढकाल नेपाल डिजिटल प्रणालीमा गइसकेकाले पनि स्मार्टकार्डको आयात बढ्दै गएको बताउँछन् । उनका अनुसार विभागबाट अहिले पनि सात लाखभन्दा बढीले स्मार्ट लाइसेन्स पाउन बाँकी छ ।

केही समयअगाडि मालिका इन्कर्पोरेट प्रालिले स्मार्टकार्ड बनाउने र छाप्ने प्रविधि नेपालमा भित्र्याएको थियो । सरकारले उक्त कम्पनीलाई चालक अनुमतिपत्र छाप्ने जिम्मा दिएको थियो ।

कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र ढकाल आफूहरूले बैंक कार्ड, स्मार्ट आईडी कार्ड लगायतका डिजिटल कार्डहरू पनि छाप्न सक्ने बताउँछन् ।
पछिल्लो समय व्यावसायिक घरानाहरूले कार्ड स्वाइप मेशिनलाई अनिवार्यजस्तै गरेका छन् । विभिन्न पसल, शपिङ सेन्टर, मल, रेष्टुरेन्ट, सार्वजनिक बस लगायतका स्थानमा पनि कार्डद्वारा भुक्तानी हुन थालेको छ ।

नोटबाट भुक्तानी गर्ने चलनकै कारण धेरै आपराधिक घटना हुने गरेको भन्दै डिजिटल भुक्तानीको एप ‘खल्ती’का सञ्चालक मनीष मोदी स्मार्टकार्ड वा एपको प्रयोगबाट भुक्तानी गर्ने हो भने चोरी वा लुटपाटका घटना कम हुने बताउँछन् । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस