
काठमाडौ । मलेसिया अवैधानिक भएर विचल्लीमा परेका नेपालीहरुका लागि खुशीको कुरा छ । विविध कारणले मलेसियामा अवैधानिक भएर लुकेर बसेका आप्रवासीहरुले आ–आफ्नो घर फर्कन पाउने भएका छन् ।
यसरी मलेसियामा विविध कारणले अवैधानिक भएर लुकेर बसेका आप्रवासीहरुले आ–आफ्नो देश फर्कन छ महिनाको अवसर प्राप्त गरेका हुन् । मलेसिया सरकारले विविध कारणले मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई आ–आफ्नो देश फर्कन छ महिनाको अवसर दिएको हो ।
अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय विहीबार वा अगस्ट १ तारिखदेखि सुरू भएको छ । त्यहाँको सरकारले साउन १६ गतेदेखि आउँदो पुस १५ गते (अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिख) सम्मका लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको हो ।
मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत अवैधानिक रुपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउने भएका हुन् ।
भिसा र राहदानीको म्याद सकिएर वा अन्य कारणबाट अवैधानिक रुपमा मलेसियामा बसिरहेका सबै तोकिएको समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्ने मलेसिया सरकारको भनाई छ । यो कार्यक्रम अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली कामदारका लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
स्वदेश फर्किन चाहने कामदारले स्वदेश फर्किनका लागि मलेसियन सरकारलाई जरिवानास्वरुप ७०० रिंगिट र राहदानी नभएकाहरुले एकतर्फी यात्रा अनुमतिपत्रका लागि १६० रिंगिट तिर्नुपर्नेछ ।
एकतर्फी यात्रा अनुमतिपत्र बनाएर मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्छ । त्यहाँ गएर आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको प्रतिलिपि अनिवार्य लैजानुपर्ने हुन्छ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल जाने मिति अध्यागमन कार्यालय गएको सात दिनभित्रको हुनुपर्नेछ ।
अध्यागमनमा जाँदा सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्छ । व्यक्ति स्वयम उपस्थित हुन दूतावासले सूचनामार्फत आग्रह गरेको छ ।
दूतावासले सूचनामार्फत आवेदन भरिदिने तथा सस्तोमा नेपाल फर्काइदिन्छु भन्दै ठूलो रकम असुल्नेहरुको बिगबिगी हुने भएकाले त्यसबाट जोगिन सचेत गराएको छ ।
विगतका वर्षमा यस्ता कार्यक्रमका नाममा ठगी भएका थुप्रै घटना बाहिर आएकोप्रति सचेत गराउँदै दूतावासले यस पटकको आममाफीमा ठगीबाट जोगिन आग्रह गरेको छ ।
दूतावासका अनुसार अवैधानिक भएर बसेको व्यक्ति स्वदेश फर्किनका लागि आवेदन दूतावासले निःशुल्क भरिदिन्छ, जरिवानास्वरुप मलेसियन दूतावासलाई ७०० रिंगिट, ट्राभल डकुमेन्टको १६० रिंगिट र प्लेनको टिकट स्वयम व्यक्तिले नै काट्नुपर्छ ।
दूतवासले मलेसियामा अवैधानिक भएर वसेका नेपाली श्रमिकलाई तोकिएको समयमा स्वदेश फर्किन आग्रह गर्दै यति गर्दा पनि नर्फकिए यसबाट हुने असर वा क्षति सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनुपर्नेतर्फ सचेत गराएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति लिएर मलेसियामा रोजगारीका लागि जानेको संख्या आठ लाखको हारहारिमा छन । त्यो संख्यामध्ये कति फर्किए विदेश छन अवैधानिक भएर वस्नेको संख्या कति छ भन्ने कुनै पनि तथ्याङ्क सरकारसँग छैन ।
यद्यपी विभिन्न कारणले अवैधानिक भएर बसिरहेका नेपालीहरुको संख्या पनि धेरै रहेको सरोकारवालाहरु बताउँछन् । दूतावासले मलेसियामा ३० हजारको हारहारिमा नेपाली कामदार अवैधानिक भएर वसेको हुनसक्ने अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस