aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

‘सरकारले दिएको बजेटले नै चुनावी खर्च पुग्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० बैशाख २०७९
‘सरकारले दिएको बजेटले नै चुनावी खर्च पुग्छ’

काठमाडौं । स्थानीय तहको निर्वाचन हुन २० दिन मात्रै बाँकी छ । यस निर्वाचनका लागि निर्वाचन आयोग धमाधम तयारीमा जुटिरहेको छ । आयोगले निर्वाचनको अधिकृतको कार्यालय स्थापनादेखि मतपत्र छपाईंको काम तीव्र रुपमा अगाडी बढाईरहेको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि एक करोड २८ लाख मतपत्र छपाईको काम सकिएको जानकारी दिए । साथै उनले नजिकिदै गरेको स्थानीय तहको निर्वाचनका लागि कार्यतालिका बनाएर काम गरिहेको बताए । 

पौडेलले आर्थिकन्युज डटकमसँग भने, ‘स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै हामीले कार्य तालिका बनाएर काम गरिरहेका छौ । कार्य तालिका बमोजिम जुन–जुन मितिमा काम गर्नुपर्ने थियो । ती सबै कामहरु गरिरहेका छौ । मतदाता अध्यावधि गर्ने कामहरु सबै गरिसक्यौ । निर्वाचनका लागि चाहिने सामग्रीहरु पनि सबै तयारी गरिसकेका छौ ।’ 

यसका साथै निर्वाचनका लागि चाहिने सामाग्रीहरुको ढुवानी पनि तीव्र रुपमा भइरहेको उनले बताए । पौडेलले भने, ‘निर्वाचनका लागि चाहिने एक करोड ९४ लाखमध्ये एक करोड २८ लाख मतपत्र छापिइसकेका छौ । अन्य सामग्रीहरुको ढुवानी पनि तीव्र रुपमा भइरहेको छ । एक हप्ताभित्रमा मतपत्र र निर्वाचनका सामग्रीहरु सबै निर्वाचन केन्द्रमा पुर्याउँछौ ।’

आयोगले स्थानीय तहको निर्वाचनका लागि ७७ वटै जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । पौडेलले भने, ‘निर्वाचन अधिकृत नियुक्ती भएर कार्यलयहरु पनि खुलिसकेका छन् । ११ गतेदेखि १७ गतेसम्म निर्वाचनका कार्यक्रमहरु सञ्चालन हुन्छन् । हामीले गर्ने निर्वाचनका कामहरुको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।’
 
प्रवक्ता पौडेलका अनुसार निर्वाचनका लागि सरकारले ८ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ‘सरकारले दिएको बजेटले नै चुनावी खर्च पुग्छ । थप खर्च जुुटाउन आवश्यक छैन’, उनले भने ।  

आयोगले स्थापना गरेको निर्वाचन अधिकृत कार्यालयले यही वैशाख १० गतेसम्म व्यवस्थापकीय कार्य गर्नेछन् । निर्वाचन कार्यालयले आफूलाई चाहिने कर्मचारी नियुक्त गर्ने, भौतिक सामग्रीको जोहो गर्नेछन् । ११ र १२ गते उम्मेद्वारको मनोनयनको कार्यक्रम राखिएको छ । 

आयोगका अनुसार विभिन्न जिल्लामा निर्वाचन सामग्री पठाउन थालिएको छ । हालसम्म मुगु, बजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँ जिल्लाका लागि निर्वाचन सामग्री पठाइ सकिएको छ । अन्य जिल्लामा पनि क्रमशः निर्वाचन सामग्री पठाउने तयारी भइरहेको छ ।  

आयोगले आसन्न स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका १० हजार बढी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्नेछन् । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र पर्यवेक्षण गर्ने संस्थाले आयोगलाई आफ्नो प्रतिवेदन दिनुपर्ने प्रवक्ता पौडेलले जानकारी दिए । 

    
 

प्रतिक्रिया दिनुहोस