
चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताईन् । नेपाल फर्मा एक्स्पो–२०२२ को आज उद्घाटन गर्दै उनले जीवनसँग प्रत्यक्षरुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय भएको बताएकी हुन् ।
औषधिजन्य उत्पादनले बहुआयामिक प्रभाव पारेको भन्दै उनले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी औषधिको उत्पादन, बजारीकरण र वितरणलाई सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्नेमा जोड दिईन् । राष्ट्रपति भण्डारीले भनिन्, “सार्वजनिक स्वास्थ्यलाई बलियो बनाउँदै नागरिकको जीवनस्तर माथि उठाउन यस उद्योगले प्रत्यक्ष भूमिका खेल्न सक्दछ ।” उनले सकेसम्म धेरै किसिमका औषधि देशभित्रै उत्पादन गर्न सकेमा हाम्रो संविधानले प्रत्याभूति गरेको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने आफूलाई लागेको बताईन् ।
कोभिड–१९ को विश्वव्यापी महामारीले खोप, औषधि तथा स्वास्थ्य सामग्रीका क्षेत्रमा गरिएको लगानी उत्पादन र वितरण प्रणालीलाई ठूलो चुनौती दिएको उल्लेख गर्दै उनले विश्वव्यापीकरणको प्रक्रिया तीव्र बनिरहेको वर्तमान परिस्थितिमा महामारी रोगको नियन्त्रण एवं उपचारमा एउटा देशको प्रयास मात्रै पर्याप्त नहुने बताईन् । राष्ट्रपति भण्डारीले भनिन्, “रोगको उपचार र नियन्त्रणका लागि विभिन्न मुलुकबीच आपसी सहयोग र सहकार्यको आवश्यकता भएजस्तै औषधि उत्पादनको क्षेत्रमा पनि विभिन्न राष्ट्रबीच पारस्परिक सहयोग अभिवृद्धि हुनुपर्दछ ।” समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान र भौतिक पूर्वाधार विकासको प्रयासमा जुट्नुपर्ने बताउँदै उनले औषधि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस