aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

मेलम्चीको पानी आजदेखि घर–घरमा वितरण हुने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, ११ बैशाख २०७९
मेलम्चीको पानी आजदेखि घर–घरमा वितरण हुने

काठमाडौं । दस महिनापछि आइतबार (आज)देखि मेलम्चीको पानी पुनः घर(घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुर्याएको थियो।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घर–घरमा पानी वितरण हुने बताइएको छ । नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो। 

खानेपानीमन्त्री चौधरीले लामो प्रतीक्षापछि पानी वितरण गर्न पाउँदा आफू निकै खुसी भएको बताए । मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आएसँगै उपत्यकामा पानीको सङ्कट निकै कम हुनेछ। खानेपानी मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरेको थियो।

त्यसको एक हप्तापछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको थियो। प्रशोधन केन्द्रमा भण्डारण गरी वितरण केन्द्रमार्फत उपत्यकाका घर(घरमा वितरण गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस