
एजेन्सी । कोरोना संक्रमितको संख्या बढेसंगै चिनियाँ अर्थतन्त्रमा केहि दशक यताकै सर्वाधिक ठूलो धक्का देखिएको छ । राजधानि सहर बेइजिङमा कोरोना संक्रमण रोकथामका लागि लकडाउन हुनसक्ने चर्चाका कारण अहिले यस्तो अवस्था देखिएको हो ।
विश्वका अन्य मुलुकहरुको शेयर बजारमा खासै ठूलो उत्तारचढाव नदेखिएका बेला चिनियाँ शेयर बजार भने निकै तल झरेको छ । त्यहाँ धितोपत्र बजारसंगै मुद्रा बजार र वस्तु बजारमा समेत ठूलो मात्रामा गिरावट आउँदा चिनियाँ अर्थतन्त्रले सकसपूर्ण स्थितीको सामना गरिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सांघाईमा रहेको स्टक मार्केट ५.१ प्रतिशतले झरेर बन्द भएको छ भने त्यहाँको सिएसआई ३०० इन्डेक्स समेत अत्यासलाग्दो गरि घटेको छ । २ करोड भन्दा बढी जनसंख्या रहेको बेइजिङमा अहिले व्यापकरुपमा कोरोनाको परिक्षण शुरु गरिएको छ । व्यापारिक शहर सांघाईमा १९ हजार ४५५ जनामा कोरोना संक्रमण देखिएपछि राजधानि सहरमा कडाई गरिएको हो ।
लामो समयसम्म नै सहरमा लकडाउन हुनसक्ने आशंकाले गर्दा मानिसहरु अत्यावश्यक वस्तुहरुको खरिदमा लागि परेका छन् । त्यससंगै सिर्जित त्रास र आर्थिक अस्थिरताको भयले त्यहाँको शेयरबजारमा नकारात्मक प्रभाव देखिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
ब्लुम्वर्क टेलिभिजनले अहिले चीनको आर्थिक अवस्था अर्थशास्त्रको भाषामा भन्दा केहि दशक यताकै कहालिलाग्दो अवस्था रहेको टिप्पणी गरेको छ ।
प्रतिक्रिया दिनुहोस