aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
नक्कली श्रम स्टिकर प्रकरण, लुकाउन नसकेपछि छानबिन

नक्कली श्रम स्टिकर प्रकरण, लुकाउन नसकेपछि छानबिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
नक्कली श्रम स्टिकर प्रकरण, लुकाउन नसकेपछि छानबिन

काठमाडौं । नक्कली श्रम स्टिकर टाँसेर दुबई उड्न लागेका चार यात्रु उच्च सुरक्षा घेराको विमानस्थलभित्रबाट बाहिरिएको विषयमा अध्यागमन विभागले ढिलो गरी अनुसन्धान थालेको छ । लामो समयसम्म गुपचुप राख्न खोजिएको यो घटना चारै जनाले राहदानी फिर्ता लिन प्रक्रिया थालेपछि मात्रै अध्यागमनले अनुसन्धान थालेको हो । 


स्रोतका अनुसार ओमबहादुर अधिकारी, सरिता विक, जानुकादेवी दाहाल र कृष्ण चौधरी फागुन ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अध्यागमन अधिकारीले ती चारमध्ये तीनको राहदानीमा टाँसिएको श्रम स्टिकर नक्कली रहेको र एकको राहदानीमा टाँसिएको स्टिकर अरूकै नाममा जारी गरिएको पत्ता लगाएका थिए ।


राहदानी जफत गरेको पत्र हातमा थमाएर थप कारबाही प्रक्रिया अगाडि बढाउनुपर्थ्यो । त्यस दिन विमानस्थल अध्यागमनमा डिपार्चर अफिसियलको जिम्मेवारी सम्हालेका जनक शर्माले चारै यात्रु कारबाहीको प्रक्रियामै रहेका बेला विमानस्थलबाट रहस्यमय रूपमा बेपत्ता भएको दाबी गरे ।

जबकि नक्कली श्रम स्टिकरको फन्दामा परेकी पीडित जानुकादेवी दाहालले कान्तिपुरसँग राहदानी लिएपछि अध्यागमन अधिकारी नै गायब बनेको र आफूहरूलाई कुनै औपचारिक पत्र नथमाइएको बताइन् । ‘नक्कली श्रम स्टिकर भएको भन्दै रोकेपछि उनीहरूले राहदानी जफत गरे ।

म झन्डै डेढ घण्टासम्म कुरेर बसें तर अध्यागमन अधिकारीले न पत्र दिए न केही सोधपुछ नै गरे,’ उनले भनिन् । उनले आफू अलपत्र परेपछि विमानस्थलको गेटमा रहेका सुरक्षाकर्मीलाई भनेर बाहिरिएको बताइन् । कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस