aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इरानले फेरि कब्जा गर्यो तेल ट्याङ्कर, बढ्यो खाडीमा युद्धको खतरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
इरानले फेरि कब्जा गर्यो तेल ट्याङ्कर, बढ्यो खाडीमा युद्धको खतरा

इरानले फेरि एउटा विदेशी ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन्। इरान सरकारले सञ्चालन गरेको टीभीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले उक्त ट्यांकर कब्जामा लिएको बताएको छ ।

यस सम्बन्धमा इरानले आफ्नो धारणा राख्दै "केही अरब देशका लागि इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियन खाडीबाट आफ्नो नियन्त्रणमा लिएको" स्पष्ट पारेको छ।

सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बताइएको छ भने ट्याङ्करका सात चालकलाई पनि इरानी पक्षले आफ्नो नियन्त्रणमा राखेको छ। अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध कस्दै लगेर दुई देशबीच तनाव चर्किएको बेला यो घटना भएको छ। यसले कुनैपनि बेला अमेरिका र इरानबीच युद्ध हुनसक्ने अवस्था सिर्जना गरेको छ ।

समाचारहरुमा उल्लेख भए अनुसार इरानको अनुसार सङ्गठित तस्करीविरुद्ध जलसेनाको गस्तीका क्रममा सो ट्याङ्कर फेला परेको थियो। इरानले इन्धन तस्करीको आरोपमा ट्याङ्कर समातेको यो दोस्रो पटक हो। गत महिना इरानले ब्रिटिश ध्वजावाहक ट्याङ्कर स्टेना इम्पेरो आफ्नो नियन्त्रणमा स्ट्रेट अफ होर्मुजबाट आफ्नो नियन्त्रणमा लिएको थियो। ब्रिटिश ध्वजावाहक स्टेना इम्पेरो अझै इरानको नियन्त्रणमा छ ।

गत जुलाई १५ मा इरानी सुरक्षाकर्मीहरूले पानामाको ध्वजावाहक एमटी रिया नामक जहाज आफ्नो नियन्त्रणमा लिएको थियो। 

गत मे र जुन महिनामा ओमानको खाडीमा दुईवटा तेलवाहक ट्याङ्करमा इरानले आक्रमण गरेको अमेरिकाले आरोप लगाएको छ। सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताबाट भिन्न भएपछि अमेरिका इरानमाथि पुन: प्रतिबन्धहरू लगाएको थियो।


 

प्रतिक्रिया दिनुहोस