aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

जीडीपीमा कृषिको योगदान र वृद्धिदर घट्दो क्रममा

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शनिबार, १७ बैशाख २०७९
जीडीपीमा कृषिको योगदान र वृद्धिदर घट्दो क्रममा

काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने प्रक्षेपण भइरहँदा कृषि, वन र मत्स्यको योगदान र वृद्धिदर भने निरन्तर घटिरहेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार २०७८/७९ मा यी क्षेत्रको योगदान २३.९५ प्रतिशत छ । तर वृद्धिदर २.२४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । जब कि २०७७/७८ मा जीडीपीमा योगदान २४.९० र वृद्धिदर २.८५ प्रतिशत थियो ।

जीडीपीमा कृषिको योगदान घट्नु भनेको उद्योग, सेवा, आईटीलगायत क्षेत्रको बढेको संकेत हो । तर कृषिको वृद्धिदर क्रमिक घट्नुले अत्यावश्यक बस्तुको आयात बढ्ने देखाउने जानकारहरू बताउँछन् । ‘बिश्वभर अर्थतन्त्र आधुनिकीकरण हुँदै जाँदा राष्ट्रिय उत्पादनमा कृषिको योगदान घट्छ । सतही रुपमा हेर्दा कृषि खत्तम भयो भन्ने हुन्छ । तर त्यो होइन । कृषिको योगदान घटिरहँदा उद्योग, आईटी, सेवालगायतको बढ्छ,’ अर्थविद् केशव आचार्यले भने, ‘तर, विडम्बना कृषिको वृद्धिदर पनि निरन्तर घट्यो । यो राम्रो संकेत होइन ।’

जीडीपीमा कृषिको योगदान घटेको मुलुकमा कृषि क्रान्ति हुन्छ । किसान पनि धनी हुन्छन् । त्यसपछि उद्योग क्रान्ति अर्थात् उद्योगको विकास हुन्छ । उद्योगको विकासपछि सेवा क्षेत्रको योगदान बढ्छ । ‘तर नेपालको हकमा कृषि क्रान्ति भएन । उत्पादन बढेन । तर सेवा फुक्दै गएको छ,’ आचार्यले भने, ‘कृषि क्षेत्रको वृद्धिदर कम हुनु भनेको खाद्यवस्तुको उत्पादन घट्नु हो । यसले अत्यावश्यक वस्तुको आयात बढाउँछ । व्यापार घाटा बढ्छ ।’

मुलुकमै उत्पादन हुन सक्ने फलफूल तथा खाद्यान्नको आयातसमेत ह्वात्तै बढेको भन्सार विभागको तथ्यांक छ । 

प्रतिक्रिया दिनुहोस