काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ ६ वर्ष बित्दासमेत बनिसकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्तम्भ निर्माणको शिलान्यास गरेकी हुन् ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणाधीन स्तम्भ निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ । तीन पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि चौथो पटक म्याद थपको तयारी भइरहेको छ । तेस्रो पटकको म्याद गएको चैतमा सकिएको हो ।
तीस महिनाभित्र सम्पन्न गर्ने गरी स्वच्छन्दरहोम निर्माण (जेभी)सँग सम्झौता भएको थियो । कुल १३ करोड छ लाख रुपियाँको लागतमा सो स्मृति स्तम्भ निर्माण भइरहेको छ ।
बारपाक भूकम्प स्मृति स्तम्भ आयोजनाका प्रमुख सुरोज पौडेलले स्तम्भको अहिलेसम्म भौतिक प्रगति ८५ र आर्थिक प्रगति ८० प्रतिशत रहेको जानकारी दिए । उनले भने , ‘‘स्तम्भको मुख्य संरचनाको काम सम्पन्न भई अहिले ‘फिनिसिङ’को काम भइरहेको छ । त्यसैगरी सोही स्थानमा निर्माण भइरहेको क्यान्टिन, शौचालय, गार्ड हाउसलगायत संरचनाको काम सम्पन्न भई अहिले रङरोगनको काम भइरहेको छ ।’’
त्यसैगरी निर्माणाधीन मण्डलाभित्रको डेकोरेसन, ट्रसहरूमा रङरोगनको साथै स्तम्भ निर्माण क्षेत्रमा विद्युत् र पानी आपूर्तिका लागि आवश्यक पूर्वाधार निर्माणको काम बाँकी रहेको उहाँले जानकारीदिए । उनले चालू आर्थिक वर्षभित्र सो स्मृति स्तम्भको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित अहिले काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस