aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

फेरिँदै छ चुनाव प्रचार शैली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० बैशाख २०७९
फेरिँदै छ चुनाव प्रचार शैली

गलेश्वर । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन आउन अब केवल ९ दिन मात्र बाँकी छ । म्याग्दी जिल्लामा वैशाख १० गते उम्मेदवारहरूको मनोनयन दर्ता भए लगत्तै चुनाव प्रचार अभियानले गति लिएको हो । यहाँ मतदाताको मन जित्न उम्मेदवारहरु घरदैलो गर्न व्यस्त छन् । मतदातालाई घरमा नभेटेपछि खेतबारीमै पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरुले किसानका खेतमा गहुँ काटिदिने, मकै गोडिदिने जस्ता कामहरुमा सघाए जस्तो गर्छन् र यस पटकको निर्वाचनमा आफू र आफ्नो पार्टीलाई भोट माग्दै त्यहाँबाट विदा हुन्छन् ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा बेनी नगरपालिका र धवलागिरि गाउँपालिकामा पाँच दलीय गठबन्धन मध्येको नेपाली काङ्ग्रेस र नेकपा ९माओवादी केन्द्र०ले संयुक्तरुपमा उम्मेदवार खडा गरी चुनाव प्रचारप्रसार गरिरहेका छन् ।  नेकपा (एमाले) र राप्रपाले एक्लै चुनावी अभियान शुरु गरेका छन् । नेका, एमाले र माओवादी केन्द्रले मनोनयन दर्ता गरेदेखि नै चुनावी अभियान थालेका छन् भने राप्रपा, अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह प्राप्त भएपछि चुनावी अभियान शुरु गरेका छन् । म्याग्दीका केही स्थानीय तह र वडाहरुमा समेत स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेपछि नेका र एमालेलाई मत काटिने भय छ ।

यस पटक निर्वाचनमा प्रचारप्रसारको शैली विगतको भन्दा फरक देखिँदै छ । चर्को माइकिङ र गाउँ शहरमा असरल्ल देखिने पोस्टर अहिले कतै देखिएका छैनन् । विगतका चुनावहरूमा जस्तो भद्दा प्रचारप्रसार भने यसपटक रोकिएको अनुभूति म्याग्दीवासीले गरेका छन् । विगतका चुनावहरूमा यतिबेला म्याग्दीको सदरमुकाम बेनीबजार लगायत ग्रामीण भेगका सार्वजनिक स्थल, पाटी पौवादेखि सडकका भित्ता र पुलहरू उम्मेदवारका ब्यानर तथा होर्डिङ बोर्डले भरिभराउ भइसक्थे । यसपटक भने निर्वाचन आयोगले लागू गरेको कठोर आचारसंहिताका कारण सदरमुकाम र गाउँका सार्वजनिक स्थल, चौतारी र पर्खालहरु कुरुप हुन पाएका छैनन् ।

मनोनयन दर्तासँगै प्रचार सामग्रीहरू छाप्ने अर्डर आए पनि विगतका चुनावहरूमा जस्तो भ्याइनभ्याईको अवस्था भने नरहेको छापाखाना तथा अफसेट प्रेसका व्यापारीहरू बताउँछन् । आचारसंहिताका कारण ठूला ब्यानर र पर्चा पोस्टरको व्यापार खस्किएको छ । प्रचार सामग्रीहरूको मूल्यवृद्धि र गठबन्धनका कारण पनि माग कम आएको हुनसक्ने बेनी बजारस्थित जनता प्रेसका सञ्चालक रुद्र प्रसाद सुवेदी बताउँछन् । चुनाव नजिकिएसँगै प्रचार सामग्री छाप्न भ्याइनभ्याई हुने यस क्षेत्रका पसलहरूमा अहिले ग्राहक आकलझुक्कल मात्र देखिन्छन् । यसले निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको परिपालना राम्रैसँग भइरहेको देखाउँछ । उम्मेदवारहरू हिजोआज पोस्टर र ब्यानरभन्दा पनि सामाजिक सञ्जालबाट आफ्ना एजेण्डा सुनाउन सक्रिय देखिएका छन् । 

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी उनीहरुलाई चुनाव चिह्न प्रदान भइसकेको छ । उम्मेदवारले चुनावी चिन्ह पाएपछि म्याग्दीमा चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ । गाउँदेखि शहरसम्म, चिया पसलदेखि चौतारासम्म चुनावकै चर्चा छ । ग्रामीण क्षेत्रका गाउँघर र बस्ती बस्तीमा पुगेर मतदाता भेट्ने र भोट माग्ने गरिरहेका उम्मेदवारहरुले आफूले चुनाव जितेपछि जनतालाई सुविधा पुग्ने र गाउँको मुहार फेरिने वाचा मतदातासामु गरिरहेका छन् ।

बेनी नगरपालिकामा गठबन्धनले चुनाव प्रचार अभियानलाई तीव्र रुपमा अघि बढाएको नेका बेनी नगर समितिका सभापति रविन्द्र कार्कीले बताए । उनका अनुसार नगरका १० वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरूको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन भैरहेका छन् । त्यसैगरी, नेका र माओवादी केन्द्र गठबन्धनले जिल्लाको धवलागिरि गाउँपालिकामा पनि उम्मेदवारी दर्ता गरेको दिनदेखि नै चुनावी प्रचार अभियान शुरु गरेको छ । बेनी नगरपालिकामा गठबन्धनको तर्फबाट नगरपालिकाको प्रमुखमा नेकाका चिरञ्जीवी पौडेल र उपप्रमुखमा माओवादी केन्द्रकी ज्योति लामिछाने उम्मेदवार छन् । रासस 

प्रतिक्रिया दिनुहोस