aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सुनको मूल्यमा फेरी बन्यो नयाँ रेकर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
सुनको मूल्यमा फेरी बन्यो नयाँ रेकर्ड

स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ६६ हजार ३ सय रुपैयाँ कायम भएको हो । बजारमा सुनको मूल्य प्रतितोलामा ६६ हजार ३ सय रुपैयाँ पुगेपछि नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अमेरिका र चीनबीचमा भएको व्यापार युद्धको कारण सुनको मूल्य आकासिएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन् ।
“प्रतितोला पाँच सय रुपैया बढेर आइतबार ६६ हजार ३ सय रुपैयाँ पुगेको छ,” उनले भने, “अन्तर्राष्ट्रिय बजारको अवस्थालाई हेर्दा सुनको मूल्यमा अझै बढ्ने देखिन्छ ।” सुनको मूल्य लगातार बढेपछि कारोबार न्यून भएको उनको भनाइ छ । उनका अनुसार अहिले दैनिक मुश्किलले १० किलोमात्र सुन बिक्री हुने गरेको छ ।
सुनको मूल्य लगातार उकालो लाग्दै गएपछि खरिद गर्ने उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर परेको छ । मूल्य बढेपछि नयाँ गहना किन्न भन्दा पनि पुराना गहना बेच्नेको भीडभाड धेरै लाग्ने गरेको छ । पछिल्लो एक महिनायता सुनको मूल्य बढेपछि बजार सुनसान जस्तै बनेको छ । तीजको समयमा बिक्री हुने आशामा व्यवासायी रहेका छन् ।
 गत वर्ष यतिबेला बजारमा सुनको माग धेरै आएकाले अभाव रहेको थियो । अहिले मूल्य बढेपछि कारोबार न्यून हुँदा व्यवसायीलाई प्रत्यक्ष असर परेको हो । महासंघका अनुसार शुक्रबार प्रतिऔंश १ हजार ४३२ डलर रहेकोमा आइतबार बढेर प्रतिऔंस १ हजार ४४१ डलर पुगेको छ । आइतबार अमेरिकी डलर १११ रुपैयाँ रहेको छ । 
यसअघि गत १५ असारमा सुनको मूल्य बढेर प्रतितोला ६५ हजार रुपैयाँ कायम भएको थियो । एक महिना स्थिर अवस्थामा रहेको सुनको मूल्य आइतबार आएर पुनः उकालो लागेको हो । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको लागि सुन सुरक्षित क्षेत्र मानिएकाले पछिल्लो समय सुनमा लगानी बढेसँगै मूल्यमा उकालो लाग्दै आएको विज्ञको भनाइ छ । 
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको शाक्यको भनाइ छ । अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको उनी बताउँछन् । अमेरिकी केन्द्रीय बैंकले ०।३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको हो । विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भईरहन सक्ने व्यवसायीको भनाई छ । मूल्य आकासिए पछि पुरानासुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसायीहरूको बताए । 
व्यवसायीका अनुसार चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको छ । इरान र अमेरिकाबीच भएको तनावले पनि लगानीकर्ताहरू सुरक्षित स्थान खोज्न थालेका छन् । 
यसअघि २०७० भदौ १२ गते सुनको मूल्य तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर मूल्य ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुन ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । यो समाचार आजको कारोबार दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस