aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

श्रीलङ्कामा संकटकाल लगाउने निर्णयको अमेरिका र युरोपेली संघद्वारा आलोचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ बैशाख २०७९
श्रीलङ्कामा संकटकाल लगाउने निर्णयको अमेरिका र युरोपेली संघद्वारा आलोचना

कोलम्बो । श्रीलङ्कामा पुनः संकटकाल लगाइएपछि राष्ट्रपति गोटबाय राजपाक्षको निर्णयको शक्ति राष्ट्रहरूले आलोचना गरेका छन् । अमेरिका र युरोपेली संघले सरकारविरुद्ध भइरहेका प्रदर्शनका माझ दोस्रो पटक संकटकाल लगाउने राष्ट्रपतिको कदमको आलोचना गरेका हुन् ।

राजधानी कोलम्बोस्थित अमेरिकी राजदूत जुली चुङले मानिसहरूको आवाज सरकारले सुन्नुपर्ने बताए । श्रीलङ्कालीहरूले बेहोरिरहेको वास्तविक चुनौतीहरूसँग जुझ्न र देशमा सबैका लागि समृद्धि र अवसर रहने बाटोमा फर्काउन दीर्घकालीन समाधानको आवश्यकता पर्ने उनको भनाइ छ ।

यस्तै युरोपेली सङ्घले सङ्कटकालले श्रीलङ्काका अप्ठेराहरू हल गर्न मद्दत नगर्ने भन्दै त्यो प्रत्युत्पादक हुनसक्ने चेतावनी दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को एउटा विशेष बैठकपछि सङ्कटकाल लगाउने निर्णय गरेको थियो । राष्ट्रपति राजपाक्षको कार्यालयले सार्वजनिक सुरक्षालाई मध्यनजर राख्दै सङ्कटकाल लगाइएको जनाएको छ । 

यसअघि पनि श्रीलङ्काका राष्ट्रपतिले गत अप्रिल २ मा सङ्कटकाल लगाउनुभएको थियो । विदेशी मुद्रा सञ्चितमा गम्भीर सङ्कट बेहोरिरहेको श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधि आयात गर्न गम्भीर समस्या भोगिरहेको छ ।एएफपी

प्रतिक्रिया दिनुहोस