
एजेन्सी । श्रीलंकामा संकटकाल लगाइए पनि जनता सडकमा उत्रिएर हिंसात्मक प्रदर्शन गरिरहेका छन् । जताततै सवारी साधन जलिरहेका छन् । त्यस्ता हिंसात्मक प्रदर्शनलाई दबाउन रक्षा मन्त्रालयले मंगलबार साइटमा गोली हान्न आदेश जारी गरेको छ । सोमबार भएको हिंसामा सांसदसहित पाँच जनाको मृत्यु भएको थियो ।
श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीमाथि आक्रमण र हिंसा फैलाएपछि महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । उनको राजीनामापछि उनका समर्थकहरुले हिंसा फैलाउन थालेका छन् ।
अर्कोतर्फ, राष्ट्रपति गोटाबाया राजापाक्षेले ट्विटरमा प्रदर्शनकारीहरूलाई शान्त रहन र हिंसा रोक्न अपील गरेका छन् । खेलकुद मन्त्री रहेका नमलले भने, ‘मेरो बुवा सकुशल हुनुहुन्छ, उहाँ सुरक्षित ठाउँमा हुनुहुन्छ र परिवारसँग कुरा गरिरहनुभएको छ ।’
बढ्दो दबाबबीच महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएको जानकारी दिए । यति मात्र होइन, आन्दोलनकारीले उनको हम्बनटोटास्थित घरमा पनि आगो लगाएर खरानी बनाएका छन् । चार दिनअघि पूरै श्रीलंकामा संकटकाल लगाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस