aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

महंगी आकासिएसँगै आँपको मूल्य ६८ प्रतिशतसम्म बढ्यो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, २८ बैशाख २०७९
महंगी आकासिएसँगै आँपको मूल्य ६८ प्रतिशतसम्म बढ्यो

काठमाडौं । फलफूलको राजा मानिने आँपको सिजन शुरू भएको छ । सिजन शुरू भएसँगै बजारमा यसको मूल्य पनि महँगिएको पाइएको छ । अघिल्लो वर्ष यो समयमा भन्दा यसपालि ६८ प्रतिशतसम्म मूल्य बढेको पाइएको हो । अहिले नेपाली आँप बजारमा आइसकेको छैन । भारतीय आँपका लागि उतै महँगो तिर्नु परेकाले बजार मूल्य बढेको व्यवसायीको भनाइ छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य–सूचीमा उल्लेख भएअनुसार अघिल्लो वर्ष वैशाख २६ गते प्रतिकिलो १ सय २५ रुपैयाँ रहेको कलकत्ते आँपको थोकमूल्य यस वर्ष वैशाख २६ गते २ सय १० रुपैयाँ थियो । यो अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशत बढी हो ।

खुद्रा बजारमा यो आँपको मूल्य प्रतिकिलो २ सय ५० देखि ३ सय रुपैयासम्म पर्ने गर्छ ।

दशहरी आँपको मूल्य पोहोरको तुलनामा ६२ प्रतिशतले बढेको छ । पोहोर प्रतिकिलो १ सय ४५ रुपैयाँ रहेकामा यसपालि २ सय ३५ रुपैयाँ पुगेको छ । खुद्रा बजारमा यसको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म पुग्छ । मालदह आँपको मूल्य ३३ प्रतिशतले बढेको पाइएको छ । यसको थोक मूल्य ७५ रुपैयाँ किलोबाट बढेर सय रुपैयाँसम्म पुगेको छ । खुद्रा बजारमा उपभोक्ताले यसका लागि प्रतिकिलो १ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस