aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

निर्वाचनका कारण आन्तरिक उडानमा यात्रुको चाप बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ बैशाख २०७९
निर्वाचनका कारण आन्तरिक उडानमा यात्रुको चाप बढ्यो

काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेहरूको लर्को रहेको छ । मतदानका लागि उपत्यकाबाट गाउँ फर्किनेहरू बढेसँगै यातायातदेखि जहाजसम्ममा यात्रुहरू भरिभराउ रहेका छन् ।    

स्थानीय तहको निर्वाचनको मतदान गर्नका लागि केही दिन यतादेखि उपत्यका छाड्नेहरूको सङ्ख्या बढिरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार काठमाडौंको नागढुंगा, मुड्खु र भक्तपुरको जगाते लगायतका नाकाहरूबाट यात्रुहरू बाहिरिने गरेका छन् । यी नाकाहरूबाट अहिले दैनिक हजारौँको सङ्ख्यामा मानिसहरू मतदानका लागि काठमाडौं उपत्यका छाडिरहेका छन् । 

यता, आन्तरिक उडानमा पनि यात्रुहरूको चाप उस्तै छ । हाल नेपाल एयरलाइन्स, बुद्ध, यती, सौर्य, श्री, तारा, गुण, समिट र सीता एयरले आन्तरिक उडान भर्दै आएका छन् । अहिले आन्तरिक उडान भर्ने यी सबैजसोमा यात्रुहरू भरिभराउ रहेका छन् ।     

आन्तरिक टर्मिनल प्रमुख पूर्ण प्रसाद चुडालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न जानेहरूका कारण आन्तरिक उडानमा यात्रुहरूको चाप बढेको बताए । उनले आर्थिक न्युजसँग भने, ‘केही दिन यतादेखि आन्तरिक उडानमा यात्रुहरूको चाप बढेको छ । स्थानीय तहको चुनावमा मतदान गर्न जानेहरूको कारण यात्रुको सङ्ख्या बढेको हुनसक्छ । अहिले आन्तरिक उडान भर्ने जहाजमा यात्रुको अभाव छैन ।’ 

त्यस्तै, यात्रुहरूको चाप बढेका कारण जहाजहरूले फ्लाइट थप गरेर उडान भरिरहेको उनले जानकारी दिए । प्रमुख चुडालले भने, ‘अहिले जहाजले बोक्न सक्ने लोड पूर्ण रूपमा उपयोग भइरहेको छ । यात्रुहरूको चाप बढेका कारण सबैजसो जहाजहरूले दैनिक एक/दुई वटा फ्लाइट थप गरेर उडान भरिरहेका छन् ।’ साथै उनले अहिले टिकटको मूल्य पनि वर्गिकरण गरेर निर्धारण गरिएको समेत जानकारी दिए ।     

निर्वाचनको दिन सबै आन्तरिक उडान बन्द 

स्थानीय तहको निर्वाचनको दिन अर्थात् वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघले स्थानीय तह निर्वाचनका दिन सबै प्रकारको यातायात बन्द हुने भएकाले वायुसेवाको नियमित आन्तरिक उडान पनि  बन्द हुने जनाएको छ ।  

संघका प्रवक्ता योगराज कँडेल शर्माले सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ बमोजिम मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेक स्थानीय तह निर्वाचनमा आन्तरिक उडान बन्द रहने जानकारी दिएका छन् ।  

संघले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०७९ वैशाख ३० गतेका दिन यस संघमा आबद्ध सबै सदस्य वायुसेवाको नियमित आन्तरिक उडान बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधाप्रति यो संघ क्षमा याचना गर्दछ ।’

तर, यस दिन अन्तर्राष्ट्रिय उडान भने सञ्चालन हुनेछन् । अन्तर्राष्ट्रिय उडानका यात्रुहरूको सहजीकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । यस दिन यात्रा गर्ने यात्रुले हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा यात्रा गर्न पाइनेछ ।      

 

प्रतिक्रिया दिनुहोस