
काठमाडौं । आज (शुक्रवार) देशैभरि स्थानीय तह निर्वाचन हुँदै छ । नयाँ संविधानअनुसार स्थानीय तहका लागि यो दोस्रो निर्वाचन हो । ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र उपाध्यक्षसहितको पदमा निर्वाचन हुन लागेको हो । त्यसैगरी ६ हजार ७४३ वडाध्यक्षका लागि पनि निर्वाचन हुनेछ । कुल ३५ हजार २२१ सदस्य निर्वाचनबाट चुनिनेछन् । निर्वाचनमा कुल १ लाख ४१ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदातालाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपील गरेका छन् । निर्वाचनको तयारी पूरा भएकोबारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान गरे ।
‘प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर तथा अधिकार निर्वाचनले प्रदान गर्छ,’ उनले भने, ‘पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरीकाले सही ठाउँमा प्रयोग गर्न सबै मतदाता महानुभावहरूप्रति हार्दिक आह्वान गर्दछु ।’
थपलियाले निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण बनाउन सरोकारवाला सबैलाई आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस