aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतीय शेयर बजारका लगानीकर्ताले २६ लाख करोड गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० बैशाख २०७९
भारतीय शेयर बजारका लगानीकर्ताले २६ लाख करोड गुमाए

एजेन्सी । विश्वभरका अधिकांश शेयर बजारमा पछिल्ला केही दिनदेखि बेच्ने प्रेसर चलिरहेको छ । यसको असर भारतीय शेयर बजारमा पनि परेको छ । पछिल्लो ८ सत्रदेखि आन्तरिक बजार दैनिक ओरालो लागेको छ । यस भारी बिक्रीको कारण, लगानीकर्ताहरूले पछिल्लो ८ दिनमा शेयर बजारमा लगभग २६ लाख करोड रुपैयाँ भारु गुमाएका छन।

गत वर्ष शेयर बजारमा ठूलो उछाल आएको थियो । तर, विगत केही महिनादेखि विश्वभरका शेयर बजार सुधारको चपेटामा छन् । दशककै उच्च विन्दुमा पुगेको मुद्रास्फीतिका कारण केन्द्रीय बैंकहरूले ब्याजदर बढाइरहेका छन् । यसले लगानीकर्तामा डर बढाएको छ ।

कोरोना महामारीको नयाँ लहर आउने डरले पनि लगानीकर्ताको निन्द्रा भंग गरिदिएको छ । बिहीबार दुबै बीएसई सेन्सेक्स र एनएसई निफ्टी २(२ प्रतिशतभन्दा बढी अंकले गिरावट आएको छ । जसका कारण लगानीकर्ताको एकै दिनमा ५ लाख करोडभन्दा बढीको घाटा भएको छ ।

हिजोको व्यापारमा, सेन्सेक्सका ३० कम्पनीमध्ये २ विप्रो र एचसीएल टेक मात्र ग्रीन जोनमा रहन सकेका छन् । कारोबारको क्रममा, सेन्सेक्स एक समयमा लगभग १,४०० अंकले घटेको थियो। कारोबार बन्द भएपछि, सेन्सेक्स १,१५८.०८ अंक (२.१४ प्रतिशत) घटेर ५२,९३०.३१ अंकमा बन्द भयो ।

त्यस्तै  निफ्टी ३५९.१० अंक (२.२२ प्रतिशत) घटेर १५,८०८ अंकमा बन्द भयो। पछिल्लो १ महिनामा सेन्सेक्स ५,५०० अंकले घटेको छ । पछिल्लो एक महिनामा निफ्टी पनि करिब १० प्रतिशतले घटेको छ । आज शुक्रबार पनि बजार घट्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस