
काठमाडौं । विश्वका ५०० जना धनाढ्य व्यक्तिहरुले एकै दिन ११७ अर्ब डलर गुमाएका छन् । समग्रमा (कलेक्टिभ नेटवर्थ) उनीहरुले २.१% खुद सम्पत्ति गुमाएका हुन् । अमेरिकी सेयर बजारमा ह्रास आउँदा उनीहरुको सम्पति पनि तल झरेको हो । यो अमेरिकी सेयर बजारमा आएको यस वर्षकै सबैभन्दा ठूलो गिरावट हो । अमेरिकी सेयर बजार न्यू योर्क स्टक एक्सचेन्ज सोमबार २.६७% ले घटेको छ । अन्य स्टक मार्केटमा पनि गिरावट देखिएको छ ।
विश्व अर्बपति सूचीका २१ जना प्रत्येकले कम्तिमा पनि १ अर्ब डलर भन्दा बढीका दरले गुमाएका छन् । चीन र अमेरिकाबीच बढ्दो तनावले अमेरिकी सेयर बजारमा गिरावट आएको विश्लेषकहरुको भनाई छ । चिनियाँ सामानमा १०% अतिरिक्त कर लगाउने ट्रम्पको घोषणाले अन्तर्राष्ट्रिय सेयर बजारका लगानीकर्ताहरु निरुत्साहित भएका छन् । यसको प्रत्यक्ष प्रभाव अमेरिकी सेयर बजारमा देखिएको हो ।
यसैगरी, भारतका अर्बपति मुकेश अम्बानीले पनि २.४ अर्ब डलर घाटा खाएका छन् । सबैभन्दा धेरै घाटा एमाजोनका मालिक जेफ बेजोसलाई भएको छ । सोमबार मात्रै उनको सम्पति ३.४ अर्ब डलरले घटेको छ । सेयर बजारमा कायम भाउका आधारमा यी अर्बपतिहरुको सम्पति मापन गरिएको हो । यद्दपि, उनी अझै पनि ११० अर्ब डलर सम्पति सँगै विश्वको धनि व्यक्तिको पहिलो स्थानमै कायम छन् ।
बनार्ड अर्नाल्ट, मार्क जुकरबर्ग र बिल गेट्सले क्रमशः ३.२ अर्ब, २.८ अर्ब र २ अर्ब डलर बराबरको घाटा व्यहोरेका छन् । पछिल्लो हङकङ लगायत अन्य कतिपय देशका सेयर बजारमा पनि गिरावट आइरहेको छ । हङकङमा ९ सातादेखि लगातार जसो जारी विरोध कार्यक्रमका कारण त्यहाँको मुद्रा तथा पुँजी बजार प्रभावित भइरहेको छ । यस अवधिमा हङकङका शीर्ष १० अर्बपतिहरुले करिब १९ अर्ब डलर घाटा व्यहोरिसकेका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस