aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

१२ देशमा पुग्यो मङ्कीपक्सको सङ्क्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ जेठ २०७९
१२ देशमा पुग्यो मङ्कीपक्सको सङ्क्रमण

एजेन्सी । कम्तीमा १२ वटा देशमा ८० जनाभन्दा बढीमा मङ्कीपक्स सरेको पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले थप ५० जनालाई बिफरजस्तो उक्त भाइरल सङ्क्रमण सरेको आशङ्कामा अनुसन्धान भइररहेको जनाको छ। तर उसले कुनै देशको पनि नाम उल्लेख गरेको छैन।

डब्ल्यूएचओले अझ बढी मानिसमा मङ्कीपक्स सर्न सक्ने भन्दै चेतावनी दिएको छ। मङ्कीपक्स युरोपका नौ देश, संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियामा पनि पुष्टि भइसकेको छ। मङ्कीपक्स मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम भेगहरूमा सामान्य मानिन्छ।

यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार यो एक प्रकारको भाइरसले गराउने दुर्लभ सङ्क्रमण हो। सङ्क्रमण हुँदा मध्यम खालका लक्षणहरू देखा पर्छन् अनि बिरामीहरू केही साताभित्रै निको हुन्छन्।

यो भाइरस एक व्यक्तिबाट अर्कोमा त्यति सजिलै सर्दैन। जनसाधारणमा व्यापक रूपमा फैलिने जोखिम एकदमै कम भएको बताइन्छ।अहिलेसम्म युरोपका यूके, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली र स्वीडनका जनस्वास्थ्य निकायहरूले आफ्नो देशमा मङ्कीपक्सका बिरामी फेला परेको पुष्टि गरेका छन्।

शुक्रवार एउटा विज्ञप्ति प्रकाशित गर्दै डब्ल्यूएचओले अहिलेका प्रकोपहरू ‘असामान्य’ र ‘गैरस्थानिक’ बनेर फैलिएको जनाएको छ । रोगको निगरानी गर्न अनि को प्रभावित हुन सक्छन् र कस्तो सहयोग गर्न सकिन्छ भन्ने पत्ता लगाउन प्रभावित देशहरू र अरूसँग मिलेर आफूले काम गरिरहेको उसले जनाएको छ।

रोगका कारण कुनै समुदायविरुद्ध लाञ्छना नलगाउन पनि उसले चेतावनी दिएको छ।  मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन। तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ। बीबीसी  

प्रतिक्रिया दिनुहोस