
काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक हुँदै छ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहदेखि धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार बनेका हर्क साम्पाङ र धनगढीका गोपाल हमालसम्म चर्चामा छन् । साम्पाङले धरान उपमहानगरको प्रमुखमा र हमालले धनगढी उपमहानगरको प्रमुखमा आइतबार दिउँसो नै जित हात पारिसकेका छन् भने काठमाडौं महानगरको मतगणना जारी छ ।
धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार साम्पाङले राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै जित निकालेका हुन् । उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरे । साम्पाङले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत ल्याएका हुन् ।
यसैगरी, धनगढी उपमहानगरपालिकामा समेत आँप चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल निर्वाचित बन्दा कांग्रेसका उम्मेदवार नृप बड पराजित भए । हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा बडले १४ हजार ८ सय १७ मत मात्र ल्याएर पराजित बनेका हुन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका साहले ५० प्रतिशतभन्दा बढी मतगणना सकिँदा कांग्रेस र एमालेका उम्मेदवारसँग फराकिलो मतान्तर कायम गरेका छन् । महोत्तरीको बर्दिवासमा ठूला राजनीतिक दललाई पराजित गर्दै प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
बर्दिवास नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रहलाद क्षत्री १४ हजार २ सय १० मत ल्याउँदै विजयी भएका हुन् । उपप्रमुखमासमेत स्वतन्त्र उम्मेदवार तारादेवी महतो ९ हजार ७ सय ३६ मत पाएर विजयी भएकी हुन् ।
यस्तै, जनकपुरधाम उपमहानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी पनि कांग्रेसका उम्मेदवारभन्दा फराकिलो मतान्तरले अघि छन् । भरतपुर महानगरपालिकामा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पनि तेस्रो स्थानको मत पाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस